आईपीएल अघि दिल्लीलाई ठुलो धक्का
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-११

इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुन केहि समय अघि मात्र दिल्ली क्यापिटल्सलाई ठुलो धक्का लागेको छ । दिल्लीका कप्तान श्रेयस ऐयरले अर्को महिना सुरु हुने आईपीएलको आधा खेल गुमाउने भएका छन् ।

इंग्ल्यान्ड विरुद्धको पहिलो एकदिवसीय खेलका क्रममा बायाँ काँधमा चोट लाग्दा ऐयरले इंग्ल्यान्ड विरुद्धको बाँकी दुई एकदिवसीय खेलका साथै आईपीएलको सुरुवाती चरणका आधि खेल पनि गुमाउने भएका हुन् ।

मंगलबार खेलका क्रममा घाइते भए पछि ऐयरलाई तत्कालै स्क्यानका लागि अस्पताल लागिएको थियो । उनको स्क्यानको रिपोर्ट हेर्दा उनले आफ्नो काँध फुस्किएको देखिएको छ । जसले गर्दा उनले केहि हप्ता मैदान बाहिर बस्न पर्ने हुन्छ ।

ऐयर मैदान बाहिर बस्दा भारतलाई मात्र नभएर दिल्लीलाई पनि ठुलो घाटा पुग्ने निश्चित छ । भारतले उनको अनुपास्थितीमा सुर्य कुमार यादव र शुबमन गिलले अन्तिम ११ मा स्थान बनाउने प्रवल सम्भावना रहेको छ ।

त्यस्तै कप्तान ऐयर खेल्न नसक्ने हुँदा सबैभन्दा ठुलो घाटा भने दिल्लीलाई हुने पक्का छ । उनी कप्तान मात्र नभएर मध्यक्रमका सबैभन्दा भरपर्दा ब्याट्सम्यान पनि हुन् । ऐयरको अनुपस्थितीमा विकेट किपर तथा उपकप्तान रिशब पन्तले दिल्लीको कप्तानी सम्हाल्ने छन् ।

ऐयरको कप्तानीमा दिल्लीले गत सिजन पहिलो पटक आईपीएलको फाइनल खेलेको थियो ।