दोश्रो पारीमा श्रीलंकाको सम्हालिएको प्रदर्शन
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-११

ओशाडा फर्नान्डो र लाहिरु थिरिमानेले अर्धशतक प्रहार गर्दा श्रीलंकाले घरेलु टोली वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको दोश्रो पारीमा सम्हालिएको प्रदर्शन गरेको छ ।

आफ्नो पहिलो पारीमा १६९ रनमा सिमित भएको श्रीलंकाले तेश्रो दिनको खेलको समाप्तीमा आफ्नो दोश्रो पारीमा ८६ ओभर खेल्दै चार विकेटको नोक्सानीमा २५५ रन बनाएको छ । वेस्ट इन्डिजलाई पहिलो पारीमा २७१ रनमा रोकेको श्रीलंकाले समग्रमा १५३ रनको अग्रता लिएको छ र हातमा अझै छ विकेट बाँकी छ ।

दोश्रो पारीमा कप्तान तथा ओपर दिमुथ करुनारत्ने तीन रन बनाएर आउट हुँदा खराब सुरुवात गरेको श्रीलंकाको लागि अर्का ओपनर लाहिरु थिरिमाने र ओशाडा फर्नान्डोले दोश्रो विकेटका लागि १६२ रन जोड्दै पारी सम्हाले । शतक बनाउन चुकेका फर्नान्डोले १४९ बल खेल्दै ११ चौकाको मद्धतमा सर्वाधिक ९१ रन प्रहार गरे भने थिरिमानेले पनि ७६ रन बनाए ।

त्यस्तै दिनेश चन्दिमल चार रनमा आउट भए भने दिनको खेलको समाप्तीमा धनन्जय डि सिल्भा ४६ तथा पथुम निसान्का २१ रनमा अविजित रहेका छन् ।

वेस्ट इन्डिजका किमार रोच र कायल मायर्सले क्रमसः १३ ओभरमा २८ तथा चार ओभरमा १० रन खर्चदैं सामना २-२ विकेट हात पारे ।

दोश्रो दिनको खेल आठ विकेटको नोक्सानीमा २६८ रनको अवस्थाबाट सुरु गरेको वेस्ट इन्डिजले तीन रन जोड्दा बाँकी दुई विकेट पनि गुमाउन पुग्दा १०२ रनको मात्र अग्रता लिन सफल भयो ।

अघिल्लो दिन ६० रन जोड्दै वेस्ट इन्डिजको पारी सम्हालेका रकिम कर्नवालले एक रन मात्र जोड्दा पेभेलियन फर्किए ।