उत्कृष्ट पुनरागमनपछि भारतद्वारा इङ्गल्याण्ड ६६ रनले पराजित
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-११

पुणेमा टस हारी पहिलो ब्याटिङ्ग गरेको भारतलाई क्रुनाल पाण्ड्याले आफ्नो डेब्यु अन्तर्राष्ट्रिय खेलमै आक्रमक अद्र्धशतक प्रहार गर्दै शतकीय साझेदारीका साथ ५ विकेटको क्षतिमा ३ सय १७ रनको बिशाल योगफलसम्म डोर्याएका थिए ।

जोनी बेयरस्टो र जेसन रोयले पहिलो विकेटका लागि आक्रमक शतकीय साझेदारी गर्दै इङ्गल्याण्डलाई बलियो शुरुवात दिलाए पनि भारत खेलमा फर्कन सफल भयो र पाहुना टोलीलाई ४२ दशमलव १ ओभरमा २ सय ५१ रनमै रोक्यो ।

बेयरस्टो र रोयले पहिलो विकेटका लागि १५ ओभरभित्रै १ सय ३५ रनको साझेदारी गरेका थिए । अर्का भारतीय डेब्युटेन्ट प्रशिद्ध कृष्णाले लगातार दुई ओभरमा दुई विकेट लिएपछि घरेलु टोली खेलमा फर्कियो । कृष्णाले पहिलो रोय त्यसपछि बेन स्टोक्स (१) को महत्वपूर्ण विकेट लिएका थिए । रोयले ३५ बलमा सात चौका र एक छक्काको मद्दतमा ४६ रन बनाए ।

दुई रनको अन्तरमै दुई विकेट गुमाएपछि इङ्गल्याण्डको गति रोकिन पुगेको थियो । बेयरस्टोले कप्तान ओइन मोर्गन (२२) सँग अर्को ३२ रन जोेडेपनि दुवै ब्याट्स्म्यान शार्दुल ठाकुरको शिकार भएपछि भारतले खेललाई नियन्त्रणमा लिएको थियो । ६६ बलमै ९४ रन बनाएका बेयरस्टोले ७ छक्का र ६ चौका प्रहार गरेका थिए ।

१ सय ७६ रनमा पाँच विकेटको स्थितिबाट माइन अलि र साम बिलिङ्गस (१८) ले केही बेर भारतीय आक्रमणलाई धानेपनि त्यो धेरै बेर टिक्न सकेन । उनीहरुले ४१ रनको साझेदारी गरेका थिए । अलिले ३७ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३० रन बनाए ।

भारतका लागि उत्कृष्ट डेब्यु गर्ने क्रममा कृष्णले ८ दशमलव १ ओभरमा ५४ रन खर्चदै चार विकेट लिए । ठाकुरले तीन र भुवनेश्वर कुमारले दुई विकेट लिए ।

यसअघि शिखर धवन र कप्तान बिराट कोहलीले बिशाल स्कोरतर्फ लादै गर्दा भारतले ४१ औ ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन मात्र बनाउन सकेको थियो । तर पहिलो एकदिवसीय खेल्ने मौका पाएका क्रुनालले केएल राहुलसँग १ सय १२ रनको शान्दार साझेदारी गरेपछि भारतले ३ सय १७ रन बनायो ।

राहुल र क्रुनालले अन्तिम पाँच ओभरमा ६७ रन जोडेका थिए । २५ बलमै अद्र्धशतक ठोकेका क्रुनालले ३१ बलमा सात चौका र दुई छक्काको मद्दतमा ५८ रन बनाए । क्रुनालको इनिङ्गस बिश्व क्रिकेटमा कुनै पनि डेब्युटेन्ट क्रिकेटरले बनाएको सबैभन्दा तिब्र अद्र्धशतक हो ।

खेलमा क्रुनाल पाण्ड्या र केएल राहुलको १ सय १२ रनको साझेदारी टर्निङ्ग पोइन्ट रह्यो

यसअघि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा फ्लप रहेका राहुलले अन्त्यमा लय भेट्टाउदै ४३ बलमा ६२ रन बनाए । उनले चार छक्का र चार चौका हिर्काए । भारतले ६४ रनको अवस्थामा रहदा ओपनर रोहित शर्मालाई २८ रनमा गुमाएको थियो ।

त्यसपछि धवन र कोहलीले दोश्रो विकेटका लागि १ सय ५ रनको साझेदारी गरेका थिए । कोहलीले ६० बलको सहयोगमा ६ चौका प्रहार गर्दै ५६ रन बनाए । आफ्नो १८ औं एकदिवसीय शतकबाट थोरैले मात्र चुकेका शिखरले १ सय ६ बलमा ९८ रन बनाए ।

उनको इनिङ्गसमा ११ चौका र दुई छक्का सामेल थियो । इङ्गल्याण्डका लागि स्टोक्सले तीन र मार्क उडले दुई विकेट लिएका थिए ।