क्रुनाल पाण्ड्या डेब्युमै चम्केपछि भारतले इङ्गल्याण्डलाई पहिलो एकदिवसीयमा दियो ३ सय १८ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-१०

त्रुनाल पाण्ड्याले आफ्नो डेब्यु अन्तर्राष्ट्रिय खेलमै आक्रमक अद्र्धशतक प्रहार गर्दै शतकीय साझेदारीमा संलग्न भएपछि भारतले इङ्गल्याण्डलाई पहिलो एकदिवसीयमा ३ सय १८ रनको बिशाल लक्ष्य दिएको छ ।

पुणेमा टस हारी पहिलो ब्याटिङ्ग गरेको भारतलाई शिखर धवन र कप्तान बिराट कोहलीले सम्हाल्ने प्रयास गरेपनि ४१ औ ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रनको कमजोर अवस्थामा रहेको थियो ।

तर पहिलो एकदिवसीय खेल्ने मौका पाएका क्रुनालले केएल राहुलसँग १ सय १२ रनको शान्दार साझेदारी गरेपछि भारतले ३ सय १७ रन बनायो । राहुल र क्रुनालले अन्तिम पाँच ओभरमा ६७ रन जोडेका थिए । २५ बलमै अद्र्धशतक ठोकेका क्रुनालले ३१ बलमा सात चौका र दुई छक्काको मद्दतमा ५८ रन बनाए ।

क्रुनालको इनिङ्गस बिश्व क्रिकेटमा कुनै पनि डेब्युटेन्ट क्रिकेटरले बनाएको सबैभन्दा तिब्र अद्र्धशतक हो । यसअघि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा फ्लप रहेका राहुलले अन्त्यमा लय भेट्टाउदै ४३ बलमा ६२ रन बनाए । उनले चार छक्का र चार चौका हिर्काए ।

भारतले ६४ रनको अवस्थामा रहदा ओपनर रोहित शर्मालाई २८ रनमा गुमाएको थियो । त्यसपछि अर्को ओपनर शिखर र कोहलीले दोश्रो विकेटका लागि १ सय ५ रनको साझेदारी गरेका थिए । कोहलीले ६० बलको सहयोगमा ६ चौका प्रहार गर्दै ५६ रन बनाए ।

आफ्नो १८ औं एकदिवसीय शतकबाट थोरैले मात्र चुकेका शिखरले १ सय ६ बलमा ९८ रन बनाए । उनको इनिङ्गसमा ११ चौका र दुई छक्का सामेल थियो । इङ्गल्याण्डका लागि बेन स्टोक्सले तीन र मार्क उडले दुई विकेट लिएका थिए ।