एक खेल अगावै न्युजिल्याण्डलाई शृंखला
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-१०

घरेलु टोली न्युजिल्याण्डले एक खेल अगावै बंगलादेश विरुद्धको एकदिवसीय शृंखला माथि कब्जा जमाएको छ । तीन खेलको शृंखला अन्तर्गतको दोश्रो खेलमा पाँच विकेटको रोमान्चक जित दर्ता गराउँदै न्युजिल्याण्डले २-० को अग्रता लिन सफल भएको छ ।

बंगलादेशले दिएको २७२ रनको लक्ष्य न्युजिल्याण्डले ४८ दशमलब दुई ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित हात पारेको हो ।

न्युजिल्याण्डको जितमा विकेट किपर टम लाथमले अविजित रहँदै शतकीय पारी खेले । कप्तान केन विलियसनको अनुपस्थितीमा कप्तानी गरेका लाथमले १०८ बलको सामना गर्दै १० चौकाको मद्धतमा सर्वाधिक ११० रन बनाए ।

लाथम बाहेक न्युजिल्याण्डको जितमा डेवोनले ७२ तथा जेम्स निशमले ३० रनको योगदान दिए ।

यस अघि कप्तान तथा ओपनर तामिम इकबाल र मोहम्मद मिथुनले अर्धशतक प्रहार गरे पछि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै छ विकेटको नोक्सानी २७१ रन बनायो ।

बंगलादेशको तर्फबाट इकबालले १०८ बलको सामना गर्दै ११ चौकाको मद्धतमा सर्वाधिक ७८ रन बनाए भने मिथुनले आक्रमक पारी खेल्दै ५७ बलमा छ चौका र दुई छक्काको मद्धतमा अविजित ७३ रनको पारी खेले । त्यस बाहेक मुश्फिकर रहिम र सौम्य सरकारले क्रमश ४३ र ३२ रन योगदान दिए ।

न्युजिल्याण्डका मिचेल स्यान्टनरले सर्वाधिक दुई विकेट हात पारे ।