इकबाल र मिथुनको अर्धशतकमा बंगलादेशको चुनौतिपूर्ण योगफल
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-१०

कप्तान तथा ओपनर तामिम इकबाल र मोहम्मद मिथुनले अर्धशतक प्रहार गरे पछि बंगलादेशले दोश्रो एकदिवसीय खेलमा घरेलु टोली न्युजिल्याण्डलाई २७२ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै छ विकेटको नोक्सानी २७१ रन बनायो ।

बंगलादेशको तर्फबाट इकबालले १०८ बलको सामना गर्दै ११ चौकाको मद्धतमा सर्वाधिक ७८ रन बनाए भने मिथुनले आक्रमक पारी खेल्दै ५७ बलमा छ चौका र दुई छक्काको मद्धतमा अविजित ७३ रनको पारी खेले । त्यस बाहेक मुश्फिकर रहिम र सौम्य सरकारले क्रमश ४३ र ३२ रन योगदान दिए ।

न्युजिल्याण्डका मिचेल स्यान्टनरले सर्वाधिक दुई विकेट हात पारे ।

तीन खेलको शृंखलामा न्युजिल्याण्ड १-० ले अघि रहेको छ । पहिलो एकदिवसीय खेलमा बंगलादेशले आठ विकेटको लज्जास्पद हारको सामना गरेको थियो ।