नवौं नम्बरमा ब्याटिङ गर्दै १४३ किलोका रखीम कर्नवालले अविजित अर्धशतक प्रहार गरे पछि घरेलु टोली वेस्ट इन्डिजले श्रीलंका विरुद्धको पहिलो टेस्टको दोश्रो दोश्रो दिनको खेलमा ९९ रनको अग्रता लिएको छ ।
दोश्रो दिनको खेलको समाप्तीमा वेस्ट इन्डिजले आफ्नो पहिलो पारीमा १०१ ओभर खेल्दै आठ विकेटको नोक्सानीमा २६८ रन बनाएको छ ।
वेस्ट इन्डिजको तर्फबाट कर्नवालले अविजित रहँदै ६० रन बनाएका छन् । आक्रमक पारी खेलेका उनले ७९ बलमा नौं चौका र दुई छक्का प्रहार गरे ।
वेस्ट इन्डिजको लागि धेरै जसो ब्याट्सम्यानले राम्रै रन बनाए पनि ठुलो स्कोर भने बनाउन सकेनन् । कर्नवाल बाहेक विकेट किपर जोशुआ डि सिल्भाले ४६, कायल मायर्सले ४५ तथा ओपनर जोन क्याम्पबेलले ४२ रनको पारी खेले भने एनक्रुमा बोंनरले पनि ३१ रनको योगदान दिए ।
श्रीलंकाका सुरंगा लकमलले २४ ओभर बलिङ गर्दै नौं मेडन ओभर सहित ४५ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे ।
यस अघि जेसन होल्डरले घातक बलिङ गर्दै पाँच विकेट लिए पछि पहिलो दिनको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६९ दशमलब चार ओभर खेल्दै आफ्नो सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सकेको थियो ।
श्रीलंकाको तर्फबाट ओपनर लाहिरु थिरिमानेले सर्वाधिक ७० रन बनाए भने श्रीलंकाको पारी ध्वस्त पार्ने क्रममा जेसन होल्डरले १७ दशमलब चार ओभर बलिङ गर्दै २७ रन खर्चिएर पाँच विकेट हात पारे ।