घरेलु क्रिकेटकै उत्कृष्ट मध्येको एक खेलमा बागमतीले आर्मीलाई १० रनले हरायो
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२७

घरेलु क्रिकेटकै एक उत्कृष्ट खेलमा बागमति प्रदेशले मेयर कपमा त्रिभुवन आर्मी क्लबमाथि १० रनको रोमाञ्चक जित हात पारेको छ ।

दिनको शुरुवातमा दुवै टोलीलाई फाइनल पुग्न फराकिलो अन्तरको जित आवश्यक रहेपनि मुलपानी मैदानमा जित हात पार्दै एपिएफले पुलिससँग उपाधि भिडन्त पक्का गरेपछि त्रिवि मैदानमा बागमती र आर्मीले प्रतिष्ठाको लडाइ लडेको थियो । त्यसमा बागमती सफल भयो ।

घरेलु एकदिवसीय क्रिकेटमा पारसले पहिलो शतक र नन्दन यादवले अर्को आक्रमक इनिङ्गस खेलेपछि बागमतीले ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै २ सय ६६ रनको चुनौतिपूर्ण योगफल खडा गरेको थियो । कप्तान बिनोद भण्डारीले शतक प्रहार गरेपनि आर्मी ४७ दशमलव १ ओभरमा २ सय ५६ रनमा समेटिएको थियो ।

जितका लागि जारी मेयर कपकै सर्वाधिक ठूलो योगफल बनाउनु पर्ने चुनौति पाएको आर्मीले रनरेटलाई कायम राखेपनि २७ औं ओभरमा १ सय ५२ रनमा ७ विकेट गुमाउन पुगेको थियो । तर भण्डारीले आठौं विकेटका लागि करण केसीसँग ८४ रनको साझेदारी गर्दै आर्मीलाई खेलमा फर्काएका थिए ।

उनले अरियो पौडेलको बलमा सिँगल लिदै ९६ बलमा शतक पुरा गरेका थिए । अरियोबिरुद्ध ठूलो शट खेल्ने प्रयासमा करण ४२ बलमा २४ रन बनाउदै आउट भएका थिए । भण्डारीलाई साथ मात्र दिएका उनले दुई चौका र एक छक्का प्रहार गरे ।

आर्मीलाई जितका लागि मात्र १३ रन चाहिएको अवस्थामा अरियोको बलमा अगाडी बढेर एक सिँगल लिन खोज्दा भण्डारी स्टम्पिङ्ग भएपछि आर्मीसँग एक विकेट मात्र बाकी थियो । अरियोले अर्को ओभरको पहिलो बलमा जितेन्द्र मुखियालाई एलबिडब्लु आउट गरेपछि बागमतीले रोमाञ्चक जित हात पार्यो ।

भण्डारीले १ सय १४ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १ सय १९ रन बनाए । उनले प्रधानमन्त्री कपमा पनि गण्डकी प्रदेशबिरुद्ध शतक प्रहार गरेका थिए । बागमतीका लागि अरियो पौडेलले ८ दशमलव १ ओभरमा ४६ रन खर्चदै पाँच विकेट लिए ।

आर्मीको इनिङ्गसलाई शुरुवात देखि नै गति दिने काम ओपनर लोकेश बमले गरेका थिए । उनले ३८ बलमा ७ चौका र एक छक्काको मद्दतमा ४६ रन बनाए ।

यसअघि ११ रनमै दुई विकेट गुमाएको बागमतीलाई पारसले तेश्रो विकेटका लागि इशान पाण्डे (२६) सँग ७३ र आदिल खान (२१) सँग ७६ रनको साझेदारी गर्दै सम्हालेका थिए । पारसले घरेलु एकदिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गर्ने क्रममा १ सय २२ बलको सामना गरेका थिए ।

४० औं ओभरमा कुशल मल्लको पहिलो बलमा चौका प्रहार गर्दै ९९ मा पुगेका उनले चौथो बलमा सिँगल लिदै शतक पुरा गरेका थिए । उनले १ सय ३३ बलमा ११ चौका र दुई छक्काको मद्दतमा १ सय १९ रन बनाए ।

पारसलाई ४० रनको योगफलमा हुँदा शाहब आलमको बलमा राजु रिजालले लङ्ग अफमा ड्रप गरेका थिए भने ७८ रनमा रहदा कुशल मल्लले लङ्ग अन शाहबले उनको क्याच छोडेका थिए ।

पारसको विकेट पतन भएपछि नन्दनले बागमतीलाई मेयर कपकै सर्वाधिक योगफलसम्म डोर्याएका थिए । यसअघि एपिएफबिरुद्धको खेलमा पनि अद्र्धशतक पुरा गरेका नन्दनले २५ बलमा ४२ रन प्रहार गरे । उनको इनिङ्गसमा पाँच चौका र एक छक्का सामेल थियो ।