पारसको शतक र नन्दनको अर्को आक्रमक इनिङ्गसपछि बागमतीले बनायो मेयर कपकै सर्वाधिक योगफल
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२७

पुर्व नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको शतक र नन्दन यादवको अर्को आक्रमक इनिङ्गसपछि बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई मेयर कपकै ठूलो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा दुवै टोलीलाई फराकिलो अन्तरको जित आवश्यक रहेको स्थितिमा पारसले उत्कृष्ट ब्याटिङ्ग प्रदर्शन गर्दै टिमलाई सम्हालेपछि बागमतीले ४९ दशमलव चार ओभरमा सबै विकेट गुमाउदै २ सय ६६ रन बनायो ।

११ रनमै दुई विकेट गुमाएको बागमतीलाई पारसले तेश्रो विकेटका लागि इशान पाण्डे (२६) सँग ७३ र आदिल खान (२१) सँग ७६ रनको साझेदारी गर्दै सम्हालेका थिए । पारसले घरेलु एकदिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गर्ने क्रममा १ सय २२ बलको सामना गरेका थिए ।

४० औं ओभरमा कुशल मल्लको पहिलो बलमा चौका प्रहार गर्दै ९९ मा पुगेका उनले चौथो बलमा सिँगल लिदै शतक पुरा गरेका थिए । उनले १ सय ३३ बलमा ११ चौका र दुई छक्काको मद्दतमा १ सय १९ रन बनाए ।

पारसलाई ४० रनको योगफलमा हुँदा शाहब आलमको बलमा राजु रिजालले लङ्ग अफमा ड्रप गरेका थिए भने ७८ रनमा रहदा कुशल मल्लले लङ्ग अन शाहबले उनको क्याच छोडेका थिए ।

पारसले शतक पुरा गर्दा ९ चौका र दुई छक्का प्रहार गरे । पारसले पुर्वमा भएको सातौं राष्ट्रिय खेलकुदको ट्वान्टी ट्वान्टी क्रिकेटमा शतक प्रहार गरेका थिए ।

पारसको विकेट पतन भएपछि नन्दनले बागमतीलाई मेयर कपकै सर्वाधिक योगफलसम्म डोर्याएका थिए । यसअघि एपिएफबिरुद्धको खेलमा पनि अद्र्धशतक पुरा गरेका नन्दनले २५ बलमा ४२ रन प्रहार गरे । उनको इनिङ्गसमा पाँच चौका र एक छक्का सामेल थियो ।

आर्मीका लागि सोमपाल कामीले १० ओभरमा ६५ रन खर्चदै पाँच विकेट लिएका थिए ।