मेयर कपको फाइनल पुग्न एपिएफलाई मुलपानीमा १ सय ७७ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२७

मेयर ११ ले नेपाल एपिएफ क्लबलाई मेयर कपको अन्तिम लिग खेलमा १ सय ७८ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा दुवै टोलीलाई जितको आवश्यकता रहेको खेलमा एपिएफले पहिलो फिल्डिङ्ग रोजेपछि ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै १ सय ७७ रन बनायो । एपिएफ सामान्य जितले नै फाइनलमा प्रवेश गर्नेछ भने मेयर ११ लाई फराकिलो अन्तरको जितले मात्र फाइनलको दौडमा कायम राख्नेछ ।

नेपाल पुलिस क्लब लगातार तीन जितपछि फाइनलमा प्रवेश गरिकेको छ ।

पहिलो दुई विकेट ४४ रनमा गुमाएपछि हरि शंकर साह र सन्दिप रजालीले ६५ रनको साझेदारी गर्दै मेयर ११ लाई सम्हालेका थिए । तर सन्दिपको विकेट झरेसँगै मेयर ११ ले लगातार विकेट गुमाउन थालेको थियो ।

उसले अन्तिम ८ विकेट मात्रै ६८ रनमा गुमाउन पुग्यो । रजालीले ८३ बलमा पाँच चौकाको मद्दतमा ४८ रन बनाए भने हरि शंकरले ५७ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३६ रन बनाए । यसबाहेक बिक्रम भुषालले ३६ बलमा २० रन जोडे ।

एपिएफका लागि अविनाश बोहोरा र कमल सिँह ऐरिले समान तीन–तीन विकेट लिएका थिए । कसिलो बलिङ्ग गरेका कमलले १० ओभरमा मात्र २५ रन खर्चेका थिए ।