सोनुको स्पिनमा घुम्यो एपिएफ, बागमतीको जितपछि मेयर कपको दौड रोचक
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२५

लेग स्पिनर सोनु देवकोटाले आफ्नो राष्ट्रिय क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएपछि बागमती प्रदेशले मेयर कपमा पहिलो जित हात पारेको छ । बागमतीले मङ्गलवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लयमा रहेको एपिएफलाई २७ रनले पराजित गर्यो ।

नन्दन यादव र ज्ञानेन्द्र मल्लले अद्र्धशतक प्रहार गरेपछि बागमतीले ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ३३ रन बनायो । सोनुले ६ विकेट लिएपछि एपिएफले ४४ दशमलव ५ ओभरमा मात्र २ सय ६ रन बनाउन सक्यो ।

मङ्गलवारको परिणामपछि मेयर कपको फाइनल समिकरण रोचक बनेको छ । एपिएफ र नेपाल पुलिस क्लबले दुई–दुई खेल जितेका छन् भने बागमती, आर्मी र मेयर ११ ले एक खेल जितेका छन् । एक चरणको लिगपछि शिर्ष दुई स्थान हात पार्ने टिमले सधै फाइनल खेल्ने छन् ।

पहिलो खेलमा पुलिससँग दुई रन र दोश्रोमा मेयर ११ बिरुद्ध ९४ रनले पराजय व्यहोरेको बागमतीलाई फाइलको दौडमा कायमै रहन जितको मात्र बिकल्प थियो । त्यसलाई सोनुले पुरा गरे ।

शरद भेषावकर (४) लाई शुरुमै गुमाएपछि आसिफ शेखले आकर्षक अद्र्धशतक प्रहार गर्दै खेललाई एपिएफतर्फ मोडेका थिए तर सोनुको बलमा उनी आउट भएपछि एपिएफको इनिङ्गस धर्मराउन थालेको थियो ।

सोनुले १० ओभरमा ४१ रन खर्चदै ६ विकेट लिएका थिए । यस क्रममा उनले एपिएफको टप र मिडल अर्डर ध्वस्त पारेका थिए । उनी बाहेक रामनरेश गिरि र अरियो पौडेलले पनि दुई–दुई विकेट लिएका थिए ।

दोश्रो विकेटका लागि शंकर रानासँग ७२ रनको साझेदारी गरेका आसिफले ३८ बलमा ५० रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे । शंकरले २९ रन बनाए भने अमर सिँह रौटेलाले २७ र सन्दिप जोराले २५ रन बनाएका थिए ।

यसअघि १ सय ३९ रनमै पाँच विकेट गुमाएको बागमतीलाई नन्दनले आकर्षक इनिङ्गस खेल्दै सम्हालेका थिए । उनले छैटौं विकेटका लागि आदिल खानसँग ७३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

नटआउट रहेका नन्दनले ५६ बलमा ६० रन बनाए । राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो अद्र्धशतक हो । आदिलले ४४ बलमा चार चौकाको मद्दतमा ३४ रनको योगदान दिए । टस हार्दै पहिलो ब्याटिङ्ग गरेको बागमतीले निकै सुस्त शुरुवात गर्दै सातौं ओभरमा १० रनको योगफलमा ओपनर आकाश थापा (१) लाई गुमाएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ४९ रनको साझेदारी गर्दै बागमतीलाई सम्हाल्ने प्रयास गरेका थिए । पारस ३७ बलमा २९ रन बनाउदै दुई चौका र एक छक्का प्रहार गरिसकेपछि बसन्त रेग्मीको बलमा आउट भएका थिए ।

ज्ञानेन्द्रले इशान पाण्डेसँग पनि ४८ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका ज्ञानेन्द्रले ५७ रन बनाउदा ७ चौका प्रहार गरे । इशानले ४२ बलमा ३१ रन बनाउदै तीन चौका हिर्काए । एपिएफका लागि किशोर महतो र अमर सिँह रौटेलाले २–२ विकेट लिए ।