महिला मेयर कप क्रिकेटका लागि ललितपुरको २० लाख सहयोग
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२५

ललिपुर महानगरपालिकाले महिला मेयर कप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजनका लागि नेपाल क्रिकेट संघलाई २० लाख रुपैया हस्तान्तरण गरेको छ ।

मँगलवार आयोजित कार्यक्रममा ललितपुर प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद कोइराल र क्यान अध्यक्ष चतुर बहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रतियोगिता चैत महिनाभत्रै आयोजना हुनुपर्ने सम्झौतामा उल्लेख छ ।

महिला मेयर कपमा प्रधानमन्त्री कपका चार सेमिफाइनलिस्ट टोली र सबै प्रदेशका उत्कृष्ट खेलाडीहरु मिश्रित ललितपुर मेयर ११ टिम गरि पाँच टिमको सहभागिता रहनेछ ।

एक चरणको राउण्ड रोबिन लिगपछि शिर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरु त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ ।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले अर्को संस्करणको लागि पनि प्रतियोगिताको लागि बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरे । क्यान अध्यक्ष चन्दले महिला क्रिकेटमा सहयोगी हातहरु कम भएको समयमा ललितपुरले देखाएको सदासयताका लागि धन्यवाद दिए ।