बागमतीको ब्याटिङ्ग अर्डरलाई नन्दन यादवको अद्र्धशतकको राहत
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२५

नन्दन यादवले नम्बर सातमा ब्याटिङ्ग गर्दै अद्र्धशतक प्रहार गरेपछि बागमती प्रदेशले नेपाल एपिएफ क्लबलाई २ सय ३४ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा १ सय ३९ रनमै पाँच विकेट गुमाएको बागमतीलाई नन्दले आकर्षक इनिङ्गस खेल्दै ६ विकेटको क्षतिमा २ सय ३३ रनको योगफलसम्म डोर्याएका थिए । उनले छैटौं विकेटका लागि आदिल खानसँग ७३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

नटआउट रहेका नन्दनले ५६ बलमा ६० रन बनाए । आदिलले ४४ बलमा चार चौकाको मद्दतमा ३४ रनको योगदान दिए । टस हार्दै पहिलो ब्याटिङ्ग गरेको बागमतीले निकै सुस्त शुरुवात गर्दै सातौं ओभरमा १० रनको योगफलमा ओपनर आकाश थापा (१) लाई गुमाएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ४९ रनको साझेदारी गर्दै बागमतीलाई सम्हाल्ने प्रयास गरेका थिए । पारस ३७ बलमा २९ रन बनाउदै दुई चौका र एक छक्का प्रहार गरिसकेपछि बसन्त रेग्मीको बलमा आउट भएका थिए ।

ज्ञानेन्द्रले इशान पाण्डेसँग पनि ४८ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका ज्ञानेन्द्रले ५७ रन बनाउदा ७ चौका प्रहार गरे । इशानले ४२ बलमा ३१ रन बनाउदै तीन चौका हिर्काए । एपिएफका लागि किशोर महतो र अमर सिँह रौटेलाले २–२ विकेट लिए ।