शाहबले एक्लै ७ विकेट लिएपनि पुलिसबिरुद्ध जोगिएन आर्मी
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२५

त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको लो स्कोरिङ्ग खेलमा पहिलो ब्याटिङ्ग गरेको आर्मी घरेलु क्रिकेटकै सबैभन्दा कम योगफल ८७ रनमै समेटियो । जवाफमा स्पिनर शाहब आलमले ७ विकेट लिएपनि पुलिसले १८ दशमलव ३ ओभरमा ९० रन बनाउदै लक्ष्य प्राप्त गर्यो ।

मात्र दुई बलरको प्रयोग गरेको आर्मीलाई शाहबलाई खेलमै राखे पनि पवन शर्राफले २६ बलमा नटआउ २२ रन बनाउदै पुलिसलाई जित दिलाए । पहिलो खेलमा एपिएफसँग पराजित भएको आर्मीको यो दोश्रो हार हो । पवनले तीन चौका र एक छक्का प्रहार गरेका थिए ।

फाइनल प्रवेश गर्न अब आर्मी आफ्नो सँगै अरुको खेलमा पनि निर्भर रहनु पर्ने भएको छ । पहिलो खेलमा बागमतीलाई दुई रनको झिनो अन्तरले पराजित गरेको पुलिसलाई १९ ओभरभित्रै प्राप्त जितका कारण रनरेटको फाइदा पनि हुने भएको छ ।

पुलिसले आफ्नो अन्तिम खेल मेयर ११ बिरुद्ध खेल्नेछ भने आर्मीले बागमतीसँग खेल्नेछ । मेयर ११ ले पनि दुई खेलमा एक मा जित हात पारेको छ ।

मङ्गलवार पुलिसलाई जितको आधार तयार पार्ने काम ओपनर सुनिल धमलाले गरेका थिए । उनले दोश्रो विकेटका लागि दिलिप नाथ (१५) सँग ४१ रनको साझेदारी गरेका थिए । शाहबको सातौं शिकार बनेका सुनिलले ४८ बलमा ३९ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

शाहबले ९ ओभरमा ४५ रन खर्चिए भने अर्का स्पिनर सुशन भारीले ९ दशमलव तीन ओभरमा ४० रन दिए । यसअघि सागर ढकाल र पवनले सशक्त बलिङ्ग गर्दै संयुक्त २० ओभरमा मात्र ३४ रन खर्चदै ८ विकेट लिएपछि आर्मी ३० दशमलव १ ओभरमा ८७ रनमै अल आउट हुन पुग्यो ।

४३ रनमै आठ विकेट गुमाएको आर्मीलाई लोकेश बम र बिक्रम सोबले ४१ रनको साझेदारी गर्दै १ सय रन नजिक पुर्याएका थिए । लोकेशले तीन छक्का र दुई चौकाको मद्दतमा २४ बलमा ३२ रन बनाए भने बिक्रमले ३४ बलमा दुई छक्का प्रहार गर्दै १४ रन बनाए ।

दुवैको विकेट ललित नारायण राजबंशीले लिएका थिए । आर्मीलाई ध्वस्त बनाउने काम सागर र पवनले गरेका थिए । दोश्रो ओभरमै सागरले सोमपाल कामीलाई पेभिलियन फर्काएपछि रातिको बर्षले निकै कठिन बनाएको पिचमा आर्मी संघर्ष गर्न थालेको थियो ।

सागरले १० ओभरमा ४० रन खर्चदै पाँच विकेट लिए भने पवनले १० ओभरमा पाँच मेडनका साथ १४ रन दिएर तीन विकेट लिएका थिए । रोहित कुमार पौडेलले ४५ रनमा १३ बल बनाए । रोहितले एक छक्का हिर्काएका थिए ।