एपिएफको सनसनीपूर्ण जितले दिपेन्द्रको पहिलो करिअर शतक खेर
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२३

कप्तान शरद भेषावकरले चोटबाट फर्कदै सेकेण्ड लास्ट बलमा छक्का प्रहार गरेपछि नेपाल एपिएफ क्लबले मेयर कप क्रिकेट प्रतियोगितामा अर्को रोमाञ्चक जित हात पारेको छ ।

शनिबार उद्घाटन खेलमा पनि त्रिभुवन आर्मी क्लबमाथि अन्तिम ओभरमै एक विकेटको रोमाञ्चक जित दर्ता गरेको एपिएफले पुलिसलाई एक बल बाकी हुदा पराजित गरेपछि दिपेन्द्र सिँह ऐरिको करिअरकै पहिलो शतक छायामा परेको थियो ।

दिपेन्द्रले १ सय ३१ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १ सय ४० रन बनाएपछि एक दिनअघि बागमती प्रदेशलाई मुलपानीमा दुई रनको झिनो अन्तरले पराजित गरेको पुलिसले आइतबार त्रिवि क्रिकेट मैदानमा ७ विकेटको क्षतिमा २ सय ५८ रन बनायो ।

राम्रो शुरुवात गरेपनि उतार–चढावको सामना गरेको एपिएफले रनरेटमा कायमै राख्दा खेल भने नियन्त्रणमै राखिरहेको थियो । अन्तिम ४८ बलमा ४५ रनको आवश्यकता रहदा उसको हातमा ६ विकेट रहेको थियो । पवन शर्राफले ४३ ओं ओभरमा सेट भएर खेलिरहेका सन्दिप जोराको विकेट लिएपछि एपिएफको रनगतिमा केही अंकुश लागेको थियो ।

१२ बलमा ७ रन मात्र बटुल्दा एपिएफलाई ३६ बलमा ३८ रनको आवश्कत रह्यो । पवनको अर्को ओभरमा १० रन बटुलेपनि एपिएफले अमर सिँह रौटेलालाई गुमायो भने दिपेन्द्र सिँह ऐरिले ४६ औं ओभरमा कमल सिँह ऐरिको विकेट लिए । पवनले अर्को कसिलो ओभरमा मात्र तीन रन खर्चदै बसन्त रेग्मीलाई पेभिलियन फर्काएपछि एपिएफको हातमा मात्र दुई विकेट थियो भने तीन ओभरमा १९ रन बनाउनु पर्ने थियो ।

शरद आउने नआउने पक्का भइनसकेको स्थितिमा अविनाश बोहोराले दिपेन्द्रको ओभरमा एक छक्का र एक चौका प्रहार गर्दा एपिएफले १३ रन बटुल्यो । १२ बलमा मात्र ६ रन चाहिएको अवस्थामा पवनले दुई रनमात्र खर्चदै अविनाशको विकेट लिए ।

अन्तिम ओभरमा रशिद खान आए भने क्रिजमा रहे चोटिल शरद । पहिलो चार बलमा मात्र दुई रन लिएपछि एपिएफलाई अन्तिम दुई बलमा दुई रन चाहियो । शरदले पाचौं बलमा छक्का प्रहार गर्दै एपिएफलाई लगातार दोश्रो खेल जिताए ।

एपिएफलाई मजबुत शुरुवात दिलाउने क्रममा ओपनर सुभाष खकुरेल र आसिफ शेखले ६७ रन जोडेका थिए । आसिफले ४८ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ४२ रन बनाए । सुभाष अद्र्धशतक पुरा गरेपछि पवनको पहिलो शिकार भएका थिए । धैर्यतापुर्वक ब्याटिङ्ग गरेका सुभाषले ७९ बलमा ६ चौका प्रहार गरे ।

शरद रिटायर्ड हर्ट हुनुअघि सुभाषले २९ रनको साझेदारी पनि गरेका थिए । एपिएफको मध्यक्रमलाई जोरा र सुमित महर्जनले सम्हालेका थिए । उनीहरुले पाचौं विकेटका लागि ४९ रनको साझेदारी गरे । जोराले ६५ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ६१ रन बनाए ।

आइतबार अद्र्धशतक प्रहार गरेका सुमितले ३२ बलमा नटआउट ३३ रन जोडे । उनले तीन चौका र एक छक्का प्रहार गरे । शरदले २६ बलमा नटआउट २० रन बनाए । पुलिसका लागि पवनले ९ ओभरमा ४५ रन खर्चदै पाँच विकेट लिएका थिए । योगेन्द्र सिँह कार्कीले पनि दुई विकेट लिएका थिए ।

यसअघि निकै लामो समय सिँगल र डबल खेल्दै गरेका दिपेन्द्रले आफ्नै रुममेट अविनाश बोहोराको बलमा छक्का हान्दै १ सय २० बलमा शतक पुरा गरेका थिए । शुरुवातको दुई विकेट २२ रनमै गुमाएपछि दिपेन्द्रले नै पुलिसको इनिङ्गसलाई अन्तिमसम्म सम्हालेका थिए ।

उनले तेश्रो विकेटका लागि सुनिल धमलासँग ५९ रनको साझेदारी गरे । सुनिलले ७२ बलमा ३३ रन बनाए । कप्तान मन्जित श्रेष्ठ सस्तैमा पेभिलियन फर्किएपछि दिपेन्द्रले पवन शर्राफसँग अर्को ७० रन जोडे ।

छरितो खेलेका पवनले ३० बलमा चार छक्का प्रहार गर्दै ३५ रन बनाए । उनले अनिल कुमार साह (१८) सँग पनि ४४ रन जोडे । शतक पुरा गरेपछि थप आक्रमक बनेका दिपेन्द्रले ठूलो शटहरु खेल्दै पुलिसलाई बिशाल योगफलतर्फ डोर्याए ।

दिपेन्द्रले भुवन कार्कीलाई ४९ औं ओभरमा मात्रै २३ रन प्रहार गरेका थिए । दिपेन्द्रले १ सय ३१ बलमा १ सय ४० रन बनाए । उनले ११ चौका र ६ छक्का प्रहार गरे । एपिएफका शरदले १० ओभरमा ४२ रन खर्चदै तीन विकेट लिए भने अविनशाले दुई विकेट हात पारे ।