एन्जल्स हार्ट र पाकिस्तान दूतावास बिजयी
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२३

एन्जल्स हार्ट एकेडेमी र पाकिस्तान दूतावासले नेपाल पाकिस्तान फ्रेन्डसिप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।

धुम्बाराही स्थित पाकिस्तान दूतावासको मैदानमा आइतवार भएको खेलमा एन्जल्स हार्टले बासुलिङ क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बासुलिङ क्रिकेट क्लब १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन बनायो । बासुलिङको लागि तिलक बोहराले ३१ तथा सुशील पटेल २४ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बासुलिङलाई सस्तैमा समेट्न एन्जल्सका लागि दिवस कुँवरले सर्वाधिक ४ विकेट तथा अंकित न्यौपानेले ३ विकेट लिए । बासुलिङले दिएको ८३ रनको लक्ष्य एन्जल्स हार्ट एकेडेमीले १४.१ ओभरमा मात्र ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

एन्जल्स हार्टका लागि बिपिन न्यौपानेले अविजित ३० रन जोडे । उनी प्रतियोगिताका म्यान अफ दि म्याच समेत घोषित भए । त्यस्तै युवराज खत्रीले १८ रन जोडे ।

यस्तै दिनको दोस्रो खेलमा पाकिस्तान दूतावासले लायन क्रिकेट क्लबलाई ५३ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तान दूतावासले इर्शद अलिको अर्धसतकको मद्दतमा लायन क्रिकेट क्लबलाई १ सय ९५ रनको टार्गेट दिएको थियो ।

पाकिस्तान दुतावासका लागि इर्शादले ५६ रनको अर्धशतकीय इनिङस खेल्दा सौकत अलिले ४० रन बनाए । जवाफी ब्याटिङमा लायनले मात्र १ सय ४१ रन जोड्न सक्यो । लायनका लागि आदित सुबेदीले ४० तथा रोजल राउतले ३५ रन बनाए ।

पाकिस्तान दूतवासका लागि नरेश थापाले ३ विकेट तथा नाशिर खान र रन्शन प्रसाईले २–२ विकेट लिए ।