७३ रनको लक्ष्य पछ्याउदा पनि बागमती धराशायी
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२२

नेपाल पुलिस क्लबले उत्कृष्ट पुनरागमन गर्दै बागमती प्रदेशलाई मेयर कपको आफ्नो पहिलो खेलमा दुई रनको रोमाञ्चक जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको पुलिस २५ दशमलव २ ओभरमा ७२ रनमै अल आउट भएको थियो । शुक्रबारको पानीले मैदान ओसिलो बन्दा खेललाई ३८ ओभरमा छोट्याइएको थियो ।

जवाफमा बागमती २७ दशमलव २ ओभरमा ७० रनमै अल आउट भयो । ४३ रनमा दुई विकेट मात्र गुमाएको बागमतीले कप्तान ज्ञानेन्द्र मल्लको विकेट पतन पछि धराशायी भएको थियो । उसले अन्तिम ८ विकेट २७ रनमै गुमाएको थियो । अन्तिम विकेट रहदा ७ रन चाहिएको अवस्थामा रशिद खानले बिपिन आचार्यलाई बोल्ड गरेका थिए ।

झिनो लक्ष्यमा पनि बागमतिलाई पछाडी पार्ने क्रममा दिपेन्द्र सिँह ऐरिले सर्वाधिक चार विकेट लिएका थिए । उनले ज्ञानेन्द्र र पारसलाई बोल्ड गरेका थिए भने अर्का ओपनर आदिल खानको पनि विकेट लिएका थिए ।

ज्ञानेन्द्रले सर्वाधिक २२ रन बनाएका थिए भने आदिलले १० रन बनाए । प्रिथु बास्कोटाले ९ रन जोडेका थिए ।

यसअघि १९ बर्षिय स्पिनर अरियो पौडेलले चार र तिब्र गतिका बलर नन्दन यादवले तीन विकेट लिए पछि पुलिस सानो योगफलमै समेटिएको थियो ।

यसअघि प्रधानमन्त्री कप एकिदवसीय क्रिकेट प्रतियोगितामा पनि पुलिस बागमतीबिरुद्ध धराशायी बन्दै १ सय १० रनमै समेटिएको थियो ।

पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाएका थिए । यस्तै ओपनर सुनिल धमला, अनिल कुमार साह र दिलिप नाथले समान १० रन जोडे ।

कसिलो बलिङ्ग गरेका म्यान अफ द म्याच अरियोले चार ओभरमा सात रन खर्चदै चार विकेट लिए भने नन्दनले ६ दशमलव २ ओभरमा १८ रन दिएका थिए ।