ललितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै, ग्राण्डीमा अपरेशन हुने
क्रीकेटिङ्ग नेपाल     २०७७-०५-२९

आइतबार साँझ मोटरसाइकल दुर्घट्नामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिँह भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं नै ल्याएर अपरेशन गरिने भएको छ ।

खतरामुक्त रहेका ललितको हात र खुट्टाको शल्यक्रिया गर्नुपर्ने आवश्यक रहेको र उनको लिभरमा दुर्घट्नामा ठोक्किएपछि रगत जमेकोका कारण अहिले नै उनको अपरेशन गर्न सकिएको छैन । मेजर अपरेश नै भएका कारण कुनै खतरा नमोल्दै उनलाई कोहलपुर शिक्षण अस्पतालबाट काठमाडौं ल्याउन लागिएको हो ।

उनको अपरेश ग्राण्डे अस्पतालमा हुनेछ । ग्राण्डीले आइतबार राति नै उनको उपचारको लागि सम्पूर्ण तयारी गरिसकेको थियो । नेपाली क्रिकेटका एक मुख्य खेलाडी नै रहेको कारण उनको बरिष्ठ अर्थोपेडिकबाट नै अपरेशन तथा उपचार गर्न लागिएको हो ।

आइतबार साँझ साढे सात बजे ललितले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिएपछि २८ बर्षिय बाया हाते बलर सख्त घाइते भएका थिए । धनगढीको निसर्ग हस्पिटलमा उपचार पूर्ण रुपले सम्भव नभएपछि एम्बुलेन्समा ललितलाई कोहलपुर शिक्षण अस्तपताल लगिएको थियो ।

डिसेम्बर ६ मा आईसिसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईबिरुद्ध नेपालका लागि डेब्यु गरेका ललितले नेपालको ऐतिहासिक पहिलो दुई एकदिवसीय मध्ये दोश्रो म्याचमा एकदिवसीय अन्तर्राष्ट्रियमा पनि डेब्यु गरिसकेका छन् ।

उनले अगष्ट ३ मा नेदरल्याण्ड्सबिरुद्ध एम्स्टलभिनमा पहिलो ओडिआई खेलका थिए भने उक्त खेलमा ललितले दुई विकेट पनि लिएका थिए । घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्ने गरेका ललित फ्रान्चाइज लिगहरुमा पनि प्रमुख खेलाडीको रुपमा रहने गरेका छन् ।