गम्भिर घाइते ललितलाई नेपालगञ्ज लगियो, हेलिकप्टरमै काठमाडौं ल्याउने तयारी
क्रीकेटिङ्ग नेपाल     २०७७-०५-२८

मोटरसाइकल दुर्घट्नामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिँह भण्डारीलाई धनगढीमा पूर्ण उचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रिफर गरिएको छ ।

आइतबार साँझ साढे सात बजे ललितले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिएपछि २८ बर्षिय बाया हाते बलर सख्त घाइते भएका छन् । उनको धनगढीको निसर्ग हस्पिटलमा उपचार पूर्ण रुपले सम्भव नभएपछि एम्बुलेन्समा ललितलाई नेपालगञ्ज लगिएको छ ।

ललितको हात भाच्चिएको छ भने टाउको र कम्मरमा पनि चोट लागेको छ । ललितको धनगढीमा सिटी स्क्यान सम्भव हुन सकेको थिएन । उनी अझै पनि पुर्ण रुपमा होसमा आउन सकेका छैनन् भने अचेत अवस्थामै बर्बराइरहेका छन् । नेपालगञ्जमा एक पटक डक्टरहरुलाई देखाएपछि चाहिएको खण्डमा हेलिकप्टरबाटै काठमाडौंमा ल्याउने व्यवस्था पनि गरिसकिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले ललितलाई हेलिकप्टरबाट काठमाडौं ल्याउनका लागि ग्राण्डी हस्पिटलसँग समन्वय भइसकेको र सबैकुरा ग्राण्डीमा स्ट्याण्ड बाइ हुने बताएका छन् । पारसका अनुसार ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डक्टर चक्र राज पाण्डेले पनि आवश्यक परे अनुसारको उपचार गरिने बताएका छन् ।

"मुख्य कुरा ललितलाई नेपालञ्जमा लगेपछि उताको डक्टरहरुले निर्णय लिनुहुन्छ भन्ने हो । यदि काठमाडौं ल्याइने हो भने सबै समन्वय गरेर ललितलाई काठमाडौंमै उपचार गराइनेछ," पारसले भने ।

दुर्घट्नामा ललितसँगै रहेका उनको नाता पर्ने २४ बर्षिय करण ठगुन्ना भने सामान्य घाइते भएका थिए । डिसेम्बर ६ मा आईसिसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईबिरुद्ध नेपालका लागि डेब्यु गरेका ललितले नेपालको ऐतिहासिक पहिलो दुई एकदिवसीय मध्ये दोश्रो म्याचमा एकदिवसीय अन्तर्राष्ट्रियमा पनि डेब्यु गरिसकेका छन् ।

उनले अगष्ट ३ मा नेदरल्याण्ड्सबिरुद्ध एम्स्टलभिनमा पहिलो ओडिआई खेलका थिए भने उक्त खेलमा ललितले दुई विकेट पनि लिएका थिए । घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्ने गरेका ललित फ्रान्चाइज लिगहरुमा पनि प्रमुख खेलाडीको रुपमा रहने गरेका छन् ।