राष्ट्रिय क्रिकेट खेलाडी ललित सिँह भण्डारी सडक दुर्घट्नामा सख्त घाइते
क्रीकेटिङ्ग नेपाल     २०७७-०५-२८

राष्ट्रिय क्रिकेट टोलीका बाया हाते तिब्र गतिका बलर ललित सिँह भण्डारी गम्भिर सवारी दुर्घट्नामा परेका छन् । आइतबार साँझ साढे सात बजे झलारी बजारमा ललितले चलाएको म २ प ४७०५ नम्बरको मोटरसाइकललाई महेन्द्रनगरतर्फ गइरहेको से १ ख १३२४ नम्बरको ट्रकले ढक्कर दिएको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ ।

ललितसँगै रहेका उनको नाता पर्ने २४ बर्षिय करण ठगुन्ना भने सामान्य घाइते भएका छन् । झलारीमा उपचारको सम्पूर्ण व्यवस्था नरहेको कारण ललितलाई एम्बुलेन्सबाट धनगढी रिसर्च हस्पिटल लगिएको हो । अहिले उनको उपचार भइरहेको छ ।

ललितका फुपाजु राम सिँह खत्रीले भण्डारीलाई हात र कम्मरमा गम्भिर चोट भएको र थप उपचारपछि मात्र केही भन्न सकिने बताएका छन् । "बाइकलाई नराम्ररी नै ठक्कर दिएको हो तर हेल्मेटको कारण उनको टाउकोमा नराम्रो चोट लाग्न पाएन । अहिले उनी बेहोसीमै बरबराईरहेका छन्," खत्रीले धनगढीबाट जानकारी दिए ।

डिसेम्बर ६ मा आईसिसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईबिरुद्ध नेपालका लागि डेब्यु गरेका ललितले नेपालको ऐतिहासिक पहिलो दुई एकदिवसीय मध्यै दोश्रो म्याचमा एकदिवसीय अन्तर्राष्ट्रियमा पनि डेब्यु गरिसकेका छन् ।

उनले अगष्ट ३ मा नेदरल्याण्ड्सबिरुद्ध एम्स्टलभिनमा पहिलो ओडिआई खेलका थिए भने उक्त खेलमा ललितले दुई विकेट पनि लिएका थिए । घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्ने गरेका ललित फ्रान्चाइज लिगहरुमा पनि प्रमुख खेलाडीको रुपमा रहने गरेका छन् ।