सन्दिपको किफायती पहिलो ओभर
क्रीकेटिङ्ग नेपाल     २०७७-०५-१६

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आफ्नो सातौं खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले ट्रिन्बागो नाइट राईडर्स विरुद्धको खेलको आफ्नो पहिलो ओभरमा मात्र तीन रन खर्चिएका छन् ।

जमैका तल्वाजको लागि आठौं ओभर लिएर आएका सन्दिपले दोश्रो, पाँचौं र छैठौं बलमा एके एक सिंगल खर्चिए भने बाँकी बलमा कुनै ट्रिन्बागोका ब्याट्सम्यानले कुनै रन जोड्न सकेनन् ।

सन्दिपले सिपीएलको जारी सिजनमा छ खेल खेल्दै नौं विकेट हात पारेका छन् । सेन्ट लुसिया जुक्स र ट्रिन्बागो नाइट राईडर्स विरुद्धको खेलमा महँगो साबित भए पनि सन्दिपले दुबै खेलमा समान १-१ विकेट हात पारे । सन्दिपले सेन्ट लुसिया विरुद्ध चार ओभरमा २३ रन तथा ट्रिनबागो विरुद्ध चार ओभरमा नै ३० रन खर्चिए ।

त्यस पछिका लगातार चार खेलमा सन्दिपले निकै किफायती बलिङ गर्न सफल भएका छन् । गायना एमेजन वारियर्ससँगको दुई खेल मध्य पहिलोमा आठ रन खर्चिएर दुई विकेट लिए भने दोश्रोमा १२ रन खर्चिएर एक विकेट हात पारे । त्यस्तै उनले पछिल्लो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्ध २७ रन खर्चिएर दुई विकेट आफ्नो नाममा लेखाएका थिए ।

सन्दिपले बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध १२ रन खर्चिएर एक विकेट हात पारेका थिए । बार्बाडोससँगको खेलको चौथों ओभरको पाँचौं बलमा चौका खाएका सन्दिपको ७५ बल पछिको पहिलो बाउन्ड्री हो । यस अघि सन्दिपको ७५ बल सम्म कुनै पनि ब्याट्सम्यानले चौका अथवा छक्का प्रहार गर्न सकेका थिएनन् ।

यस अघि खेलेका सबै छ खेल जित्दै १२ अंकका साथ ट्रिन्बागो अंक तालिकाको शिर्ष स्थानमा छ भने जमैका छ अंक सहित चौथों स्थानमा रहेको छ ।