नेपाली क्रिकेटः के हुनुपर्ने ? के भइरहेको छ ?
आदर्श ढकाल     २०७७-०४-३१

पछिल्लो पाँच बर्ष नेपाली क्रिकेटले मैदान भित्र जति प्रगति गरेको छ मैदान बाहिरको छट्पटाहट कमैलाई थाहा छ । मैदान भित्रको उपलब्धि नै यस्तै छ, समस्यातर्फ धेरैको ध्यान जादैन ।

नेपाल अहिले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त देश भइसकेको छ ।

सन् १९९६ देखि आधिकारिक प्रतियोगिता खेल्न थालेको नेपाली क्रिकेट आज कुनै समय बिश्व क्रिकेटमा स्थापित जिम्बाब्वेलाई पनि हराउन सक्छ भन्ने स्थिति आइसकेको छ । जिम्बाब्वे क्रिकेट उधो गतिमा लागे पनि अर्को केन्या हुने पथमा भने पुगिसकेको छैन । ओडिआई उपलब्धि हात परिरहदा समस्या तर्फ कोही केन्द्रित हुन चाहदैन । बस्, नेपालले खेलिरहनु पर्यो ।

ओडिआई नेशन भनेर गर्व गर्ने अहिले धेरै छन् र यसको लागि भएको संघर्ष बुझ्ने धेरै कम । तर यहा क्रिकेटले देशलाई दिन सक्ने आर्थिक लाभ र नेपाली राष्ट्रियतालाई नै मजबुद बनाउने एजेन्टको रुपमा खेल्न सक्ने भुमिकाको बारे बुझ्न आवश्यक छ ।

यो सँगै नेपाली क्रिकेट चल्नु पर्ने तरिका पनि ।

टेस्ट राष्ट्र नजिक पुगेका टोलीलाई बिश्व क्रिकेटको खुड्किलोमा दोश्रो स्थानमा रहेका देशहरुले ५० ओभरको क्रिकेट (एकदिवसीय अन्तर्राष्ट्रिय) मा तिनै टेस्ट राष्ट्रसँग भिड्न पाउने ब्यवस्था नै ओडिआई नेशन हुनुको फाइदा हो । बिश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसि) ले हाल अपनाएको मापदण्ड नै यहि हो ।

कोरोना भाइरसले एक बर्ष एशोसिएट क्रिकेट ठप्प पार्ने निश्चित हुँदा यो मापदण्ड अब नेपालका लागि सन् २०२३ सम्मका लागि लागु हुनेछ । अर्थात, नेपालले कसरत गर्ने हो भने यो समय सिमा भित्र बिराट कोहलीको भारतीय राष्ट्रिय क्रिकेट टोलीलाई टियु क्रिकेट मैदानमै नेपाली टोलीसँग फ्लड लाइटमा एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा भिडाउन सक्छ । यो लाइसन्स नेपालसँग छ ।

यहाँसम्म पुग्नको लागि मैदानमा नेपालले धेरै मिहिनेत गर्नुपरेको थियो र यही स्थितिमा टिकी राख्न दोब्बर मिहिनेतको आवश्यकता छ । नेपाली क्रिकेटरहरुले २०१८ को एकदिवसीय बिश्वकप छनोटसम्म गरेको मिहिनेतले नै यो उपलब्धि हात पारेका हुन् ।

एकदिवसीय बिश्वकपका लागि छनोट नभएपनि जिम्बाब्वेमा भएको उक्त प्रतियोगितामा आठौं स्थान हात पार्दा नेपाल ओडिआई राष्ट्र बनेको थियो ।

तर बिडम्बना भन्ने कि आश्चर्यजनक उपलब्धि, यो दौरान नेपालमा क्रिकेटको अभिभावक संस्था नै थिएन । सन् २०१६, अप्रिल २५ मा आईसिसिले सरकारी हस्तक्षेप र निष्पक्ष चुनाव नभएको भन्दै नेपाल क्रिकेट संघलाई निलम्बन गर्यो । समस्या त्यसअघि नै थियो ।

क्यान भित्रको गुटगत द्वन्द र २०१४ को ट्वान्टी ट्वान्टी बिश्वकपमा सहभागिताबाट फर्किए लगत्तै राष्ट्रिय खेलाडीहरुले क्रिकेटको सर्वोच्च निकाय खेल र खेलाडीको हितमा काम गर्न नसकेको र चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियारमै गएपछि समस्या जटिल बनिसकेको थियो ।

पहिले नै आफूले दिदै आएको अनुदान रोक्का गरिसकेको आईसिसिले अघोषित निलम्बनलाई औपचारिकता दिन मात्रै बाकि थियो ।

गत अक्टोबर ८ मा लामो समय (झण्डै साढे तीन बर्ष) पछि नेपाली क्रिकेट निलम्बनबाट उम्कन सफल भयो । आईसिसिका प्रतिनीधिहरुको रहोवर र नेपाली खेलकुदकै सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्विकृतिमा भएको बिशेष साधारण सभाले चतुर बहादुर चन्दको नेतृत्वमा क्यानमा १७ सदस्यीय केन्द्रिय कार्य समितिको चयन गर्यो ।

क्रिकेटको अभिभावक संस्था हुनका लागि राखिएका शर्तहरु पुरा भएकोले अब नेपाल आईसिसि निलम्बनबाट पूर्ण रुपमा नै मुक्त हुने तर्फ उन्मुख भएको छ । आईसिसिले शसर्त निलम्बन फुकुवा गरेको बताएपछि नेपाल अझै ढुक्क भइहाल्ने स्थितिमा भने छैन । क्यानले आईसिसिकै निर्देशनमा काम गरिरहेको छ ।

चुनौतिको चाङ्ग

गत सेप्टेम्बरमा भएको एसिसि अण्डर १९ एसिया कपका लागि नेपाली युवा टोली श्रीलंका उडेको थियो । प्रतियोगिता शुरु हुनु भन्दा एक हप्ता अगाडि तयारी गर्न श्रीलंका पुगेको नेपाली टोली झण्डै दुई हप्ताका लागि बैदेशिक तयारीका लागि जुट्न चाहन्थ्यो ।

बर्षाले गर्दा नेपालमा पूर्ण प्रशिक्षण सम्भव हुन नसक्ने भएकाले लोकल कण्डिसनमा अभ्यस्त हुन र बलियो टोलीसँग अभ्यास गर्न नेपाली टोली चाडै श्रीलंका पुग्न चाहिरहेको थियो ।

तर नेपाली टोलीले श्रीलंकामै दुई हप्ते तयारी गर्ने भनेर पठाएको प्रस्ताव आईसिसिले पारित गरेन । क्यान निलम्बनमा हुदा कुनै पनि यस्ता बैदेशिक तयारीका लागि आएको प्रस्ताव अनुसार आईसिसिले दिदै आएको अनुदानबाट रकम कट्टा गर्दै ब्यवस्था मिलाइदिने गरेको थियो । तर धेरै जसो प्रस्तावहरु कागजमै सिमित भएका पनि थिए ।

आर्थिक पाटो महत्वपूर्ण हुने भएकोले यस्तो परिस्थितिमा खेलको अभिभावक संस्थाको उपस्थिति आवश्यक रहन्छ । क्रिकेट संघ नहुंदा नै नेपाली युवा टोलीले चाहेको जस्तो लामो समय प्रशिक्षण गर्न पाएन । तर कुनै पनि देशको क्रिकेटको सर्वोच्च निकायका लागि यो सबैभन्दा सजिलो काम हो ।

यसअघि क्यानले यस्तै सजिला कामहरुलाई मात्रै आफ्नो दायित्व सोच्ने गरेको थियो । "ट्वान्टी ट्वान्टी बिश्वकपमा छनोट हुँदा हामीले नै टोलीलाई बैदेशिक प्रशिक्षणमा पठाएका थियौं," निलम्बन हुनुअघिको कार्य समितिका एक सदस्यले छाती फुलाउदै भनेका थिए ।

कसरी चल्नु पर्ने हो क्रिकेट ?

शुन्य रहेको नेपालको घरेलु क्रिकेटलाई केही हदसम्म बचाइराख्ने काम नीजि कम्पनीहरुबाट सञ्चालित फ्राञ्चाइज ट्वान्टी ट्वान्टी क्रिकेटले गरेका छन् । यस्ता प्रतियोगिताहरुले राष्ट्रिय टोलीमा सम्भावना रहेका क्रिकेटरहरुलाई केही मात्रामा एक्सपोजर प्रदान गर्ने गरेको छ भने धेरै खेलाडीहरु नबिदेशिएको एक कारण पनि बनेको छ ।

नेपालले यसअघि पाएका उत्कृष्ट क्रिकेटरहरु कनिष्क चौगाई, सागर पन्त, पहिलो अन्तर्राष्ट्रिय सेन्चुरियन मोनिक श्रेष्ठ, बन्टु बटाजु, बर्दान चालिसे, प्रेम चौधरी, यशवन्त सुबेदी र सागर खड्का जस्ता नामहरु शायद अहिलेको स्थितिमा बिदेशिनु अघि एक पटक सोच्ने थिए ।

ट्वान्टी ट्वान्टी क्रिकेट मात्रै सबै थोक भने होइन ।

फ्रान्चाइज प्रतियोगिताहरुले बिदेशी खेलाडीहरुको संलग्नताका कारण नेपाललाई अन्य देशहरुसँग जोड्ने काम गर्दै घरेलु खेलाडीहरुलाई राम्रो प्रतिस्पर्धाको व्यवस्था मिलाइदिन सहयोग गरेपनि यसले क्रिकेटको दिगो बिकासमा चाहिए अनुरुपको योगदान गर्न सक्दैन । खेलको बिकासका लागि क्यानले प्रशासनिक रुपमा नै असिमित तदारुकता देखाउन आवश्यक छ ।

अन्तर्राष्ट्रिय निकायबाट आएका अनुदानलाई व्यवस्थित गर्नु मात्रै आफ्नो दायित्वको रुपमा लिदै आएको क्यानलाई त अहिले एकदिवसीय मान्यता अर्को चार बर्षका लागि जोगाउदै नेपाललाई थप उपलब्धि तर्फ धकेल्नु पर्ने ठूलो चुनौति छ ।

एकदिवसीय मान्यता पाइसकेको राष्ट्रको अर्को लक्ष्य टेस्ट राष्ट्र बन्नु हो । खेलाडीहरुले यो बारम्बार भन्दै आएका त छन् नै, प्रतिभाको कमि नरहेको नेपालको लागि यो उपलब्धि हात पार्न सम्भव पनि छ ।

अक्टोबर ८ मा आफ्नो प्यानलले नै चनाव स्विप गरेपछि अध्यक्ष चन्दले भनेका थिएः "अब हाम्रो लक्ष्य क्यालेण्डर बनाएर एक दिवसीय र दुई दिवसीय क्रिकेटलाई प्राथमिकता दिनु हो ।"

नेपाली क्रिकेटको सर्वोच्च निकायका पदाधिकारीबाट निस्किएको त्यो नौलो कुरा थियो । किनभने बैधानिक भएपछि क्यानले पहिलो पटक एकदिवसीय मान्यताको महसुस गर्न पाएको थियो ।

तर यो नयाँ उपलब्धिले चन्दको भनाईलाई पूर्ण रुपमा सान्दर्भिक भने बनाएको थिएन ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता रहेको क्रिकेटको सर्वाेच्च निकायको रुपमा क्यानले एउटा लामो सुचि तयार गरेरै काम गर्नु पर्नेछ । एकदिवसीय र दुई दिवसीय क्रिकेट प्रतियोगिताहरुको आयोजना त एक शुरुवात मात्रै हो ।

एकदिवसीय र दुई दिवसीयले बर्तमान अवस्थाको मागलाई मात्र सम्बोधन गर्छ । नेपालले टेस्ट राष्ट्र बन्ने लक्ष्य लिएर घरेलु क्रिकेटको बलियो संरचना तयार गर्नुपर्नेछ ।

सबैभन्दा महत्वपूर्ण काम क्यानले केन्द्रिय क्रिकेट एकेडेमी खोल्दै १० बर्षको उमेरका बच्चाहरुलाई क्रिकेटमा अभ्यस्त गराउन आवश्यक छ । कम्तिमा पनि १० हजार बच्चालाई अहिले देखि नै सिस्टममा राखेर खेलाउने हो भने अण्डर १६ देखि अण्डर–१९ र सिनियर टोली सम्मको लागि खेलाडी छनोटमा सहज पर्नेछ ।

नेपाल प्रादेशिक संरचनामा गइसकेको स्थितिमा अब हरेक प्रदेशमा एक केन्द्रिय एकेडेमी बनाउन आवश्यक देखिन्छ भने त्यसको व्यवस्थापनका लागि प्रशिक्षकहरुको उत्पादनमा पनि ध्यान दिनु पर्नेछ । क्यानले केही दिनअघि मात्रै सातै प्रदेशमा प्रशिक्षकहरुको नियुक्ति गर्ने निर्णय भने गरेको छ ।

यस्तै नेपाली राष्ट्रिय टोलीको बेञ्च बलियो बनाउनका लागि नेपालको दोश्रो श्रेणीको टोली (नेपाल बी) खडा गर्न अपरिहार्य देखिन्छ । सामान्यत, बिकसित क्रिकेट राष्ट्रहरुले आफ्नो सिनियर टोली अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त भइरहदा दोश्रो श्रेणीको टोलीलाई बैदेशिक प्रशिक्षणसँगै लगातार प्रतियोगिताहरुमा संलग्न गराउदै एक्सपोजर दिने गरेका छन् ।

नेपाली सिनियर टोलीमा फर्मबाट बाहिर रहेका र चोटग्रस्त खेलाडीहरुलाई यही नेपाल बि टोलीका खेलाडीहरुले स्थानान्तरण गर्नेछन् । दुवै टोलीमा खेलाडीको चयनको लागि लामो समयको घरेलु सिजनबाट हुनुपर्छ । क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीहरुसँगै दोश्रो श्रेणीको टोलीका खेलाडीहरुको पनि आर्थिक पाटो तर्फ ध्यान दिनुपर्छ ।

महिला क्रिकेटरहरुलाई सेन्ट्रल कन्ट्रयाक्टमा ल्याउने भनेको क्यानले महिला क्रिकेटको बिकासमा पनि उचित ध्यान पुर्याउन आवश्यक छ । एक समय एकै स्तरमा खेलिरहेको थाइल्याण्ड अहिले बिश्वकप खेलिसक्दा नेपाली महिला क्रिकेट भने नराम्ररी पछाडी परेको छ । निलम्बनको सबैभन्दा ठूलो असर महिला क्रिकेटमै भएको छ ।

क्यानले आफूले तयार पारेको कार्यसुचि अनुरुप नै आईसिसिको अनुदान प्राप्त गर्नेछ । अफगानिस्तान र आईसिसिले घरेलु क्रिकेट बलियो बनाउदै बिभिन्न कार्यक्रमहरु गर्ने प्रस्ताव आईसिसिमा पठाएपछि उसले त्यही अनुरुपको अनुदान प्राप्त गरेको हो ।

घरेलु क्रिकेटको स्तर र संरचनाको मुल्यांकन गरेर नै आईसिसिले तीन दिने क्रिकेटलाई प्रथम श्रेणीको मान्यता दिन सक्छ । क्रिकेटिङ्ग राष्ट्रको रुपमा घरेलु क्रिकेटले प्रथम श्रेणीको मान्यता पाउनु नेपालको लागि अर्को ठूलो उपलब्धि हुनेछ ।

नेपालजस्तै उदीयमान एकदिवसीय राष्ट्रलाई आईसिसिले नियमित अनुदानमा मात्रै सिमित राख्दैन । काम जति गर्यो, पैसा उति धेरै पाउने हो ।

यो त भयो क्यानले घरेलु क्रिकेटमा गर्नुपर्ने कुराहरु । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बन्नुको फाइदा असिमित नै छन् ।

अफगानिस्तान टेस्ट राष्ट्र बन्नु अघि नै उसले पाकिस्तान र अष्ट्रेलिया जस्ता ठूला देशहरुसँग खेलिसकेको थियो । अफगानिस्तान क्रिकेट बोर्डले क्रिकेट बिकासमा देखाएको गम्भिर्यताले यो सम्भव भएको थियो ।

ठूला राष्ट्रहरु, बिशेष गरि कोरोना महामारि पछिको बिश्वमा, खचाखच भरिएको तालिकाका कारण अब व्यस्त हुने भएपनि मैदान बाहिर बाक्लो उपस्थितिका साथ दर्शकले देखाउन सकेको प्रदर्शनले धेरैलाई यहा आउन लालायित गर्न सक्छ । नेपाललाई मात्र एउटा शुरुवातको आवश्यकता छ ।

अन्तर्राष्ट्रिय क्रिकेट हस्ती क्रिस गेल लगायत नाम चलेका क्रिकेटरहरु बिना कारण फ्राञ्चाइज प्रतियोगिता खेल्न नेपाल आउन राजी भएका होइनन् । उनीहरुको नाम जोडिदा बिश्व क्रिकेट सामु नै नेपालले दह्रो उपस्थिति जनाइसकेको छ ।

नेपालको लागि ठूलै राष्ट्रहरु आउनु पर्छ भन्ने छैन । आयरल्याण्ड, अफगानिस्तान, जिम्बाब्वे, स्कटल्याण्ड, नेदरल्याण्ड्स, बङ्गलादेशसम्म आइपुग्दा पनि नेपाललाई ठूलै फाइदा पुग्नेछ । यसले खेलाडीलाई राम्रो एक्सपोजर त दिन्छ नै क्यान आफै पनि आर्थिक रुपमा स्वतन्त्र हुन सक्छ । राष्ट्रिय टोलीको खेलका लागि मरिहत्ते गर्ने नेपाली दर्शक राम्रै पैसा तिरेर भएपनि घरेलु मैदानमा उत्सवको माहौल बनाउन तत्पर हुन्छन् ।

प्रतिस्पर्धात्मक टोलीहरुलाई मैदानमा उतार्दा आउने प्रायोजकसँगै टिकट रकमबाट मोटो रकम आय आर्जन गर्न सकिने भएकाले क्यान देशकै अर्थतन्त्रमा योगदान दिनसक्ने संस्था नै बन्न सक्छ । निरन्तर नेपाल एक देशको रुपमा माथिल्लो स्तरमा खेलिरहदा यसले नेपाली राष्ट्रियतालाई अझै बलियो बनाउने सामाजिक फाइदा त छ नै ।

तर क्यानमा यो सबै बिषयमा चर्चा नै हुने गरेको छैन । यी सब त धेरै परको कुरा हो, क्यान अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध स्थापित गर्दै प्रशिक्षक ल्याउन समेत असफल भएको छ ।

"यो सबै हामीले बिस्तारै गर्दै जाने कामहरु हो । हामीले गर्नु पर्ने धेरै छ तर अहिलेको परिस्थितिमा हामी बाधिएको छौं," आंशिक प्रतिबन्ध फुकुवा र कोरोनालाई कारण देखाउदै क्यानका सचिव अशोकनाथ प्याकुर्यालले भने । क्यानमा नेपाली क्रिकेटको बिकासलाई लिएर माथि भनिएका बिषयमा चर्चा भए नभएको बिषयमा भने उनले स्पष्ट केही भन्न सकेनन् ।

क्यानको पछिल्लोे मिटिङ्गले सातै प्रदेशमा प्रशिक्षक नियुक्त गर्ने निर्णय गर्यो भने राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसँगै महाप्रबन्धक, बित्त प्रबन्धक र क्रिकेट व्यवस्थापकको बिज्ञापन आह्वान गर्ने पनि बताएको थियो । आईसिसिकै निर्देशनमा भएको उक्त निर्णयको क्यान निर्वाचित भएको ९ महिनापछि मात्रै आएको थियो ।

आंशिक प्रतिबन्ध कायमै रहेको स्थितिमा क्यानलाई पूर्ण रुपमा आईसिसिले बिश्वास गरेको छैन । यसको कारण हो यसअघि कै कार्यसमितिमा भएका पदाधिकारीहरु दोहोरिनु ।

क्यानले चरणबद्ध रुपमा काम गर्ने सुचि तयार पार्दै निर्णय गरेपछि मात्रै आईसिसिले रकम निकासा गर्ने व्यवस्था गरेको छ । पछिल्लो निर्णयहरु त्यही व्यवस्थाप्रतिको प्रतिक्रिया थियो । क्यानले आफ्नो आधिकारिक ट्विटर ह्याण्डल सञ्चालनमा ल्याउन पनि त्यति नै महिना लगाएको थियो ।

गुटबन्दीले अझै पनि ग्रस्त क्रिकेट प्रशासन

नेपाली कांग्रेससँग आबद्ध अध्यक्ष चन्दको राजनीतिको जग आफ्नै गृह जिल्ला बैतडीमा रहेको छ । चन्दको प्यानलले चुनाव जित्दा उनकै राजनीति प्रमुख आधार रहेको थियो । तर अहिले अध्यक्ष आफै गुटबन्दीको चेपुवामा परेको क्यान भित्रकै पदाधिकारीहरु बताउछन् ।

साउन ५ गते क्यानको कार्य सम्पादन बैठक बस्नु केही दिन अघि नै चन्द राजधानी आएका थिए । उनले केन्द्रमा रहेर आईसिसिसँग समन्वय गर्नुका साथै अन्य आवश्यक कामहरुको नेतृत्व लिएर बसेकाहरुले नै काम नगरेको आफू निकट क्यान पदाधिकारीलाई बताएको एक क्यान निकट श्रोतले खुलायो ।

"काम गरेर देखाउनु पर्ने समयमा क्यानको एक समुह आफू निकटका पुर्व पदाधिकारीहरुलाई चोख्याउने प्रयासमा लाग्दै उनीहरुलाई कुनै न कुनै पद दिन कसरत गरिरहेको छ," नाम नबताउने शर्तमा क्यानकै एक पदाधिकारी बताउछन् । "काम गरेर आईसिसिलाई प्रभाव पार्ने समयमा यहा त चरम गुटबन्दी भइरहेको छ ।"

चन्द क्यानमा गुटबन्दी रहेको कुरा भने अस्विकार गर्छन् । कसैले क्यानमा गुटबन्दी छ भनेर आरोप लगाउछ भने त्यो गलत साबित हुनेछ । अर्को कुरा अध्यक्षको रुपमा म यो कुरा स्वीकार्न पनि सक्दिन । यदि गुटबन्दी रहेछ भने पनि यो समस्याको समाधान गर्ने जिम्मेवारी मेरो हुनेछ, चन्दले भने ।

युवारज लामा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रहदा माओवादी निकट टंक आङबुहाङ नेतृत्वको क्यान गुटबन्दीले नै ग्रस्त भएपछि व्यापक समस्या शुरु भएको थियो । त्यही गुटबन्दीकै कारण कैर्यौ योजनाहरुले मुर्तरुप लिन सकेका थिएनन् ।

पुबुदु दासानायके प्रशिक्षक रहदा नेपाल बी को अवधारणा तयार पारेर त्यसका लागि खेलाडीहरु समेत राखिसकेका थिए तर क्यानको किचलो र कामप्रतिको उदासिनताका कारण त्यसले मुर्तरुप पाउन सकेको थिएन । आईसिसिले बिश्वकपपछि ठूलै अनुदान पठाएपनि आर्थिक रुपले कँगाल भएको क्यान केही गर्न सक्ने अवस्थान मै थिएन । उल्टै पुबुदुलाई तलब दिन नसक्ने भन्दै क्यानले सम्झौता समेत नविकरण गरेको थिएन ।

क्यानको केन्द्रिय कार्य समितिसँग लडेरै भएपनि दासानायकेले केन्द्रिय क्रिकेट एकेडेमीको अवधारणामा नेशनल क्रिकेट एकेडेमी (एनसिए) स्थापना गरेका थिए । एकेडेमीले नियमित रुपमा बच्चाहरुलाई टियु ग्राउण्डमा क्रिकेटको बेसिक सिकाउने गर्दथ्यो ।

ट्वान्टी ट्वान्टी बिश्वकपका लागि छनोट हुँदा नेपालमा क्रिकेटको राम्रै माहौल बनिरहेको थियो । एनसिए मातहत नै रहेर भैरहवा र धनगढीका एकेडेमीहरुले कामलाई निरन्तरता दिएका थिए भने त्यसलाई फैलाउने प्रकृया पनि शुरु भइसकेको थियो । तर क्यान भित्रको आन्तरिक समस्याको पहिलो शिकार एनसिए नै हुन पुग्यो । एनसिए अहिले अस्तित्वमै छैन ।

उमेर समुहको नेपाली टोलीमा अहिले धेरै जसो योगदान नीजि एकेडेमीहरुको उत्पादनले गरिरहेको छ । यो जिम्मेवारी क्यान र उसले स्थापना गर्न आवश्यक रहेको केन्द्रिकृत एकेडेमीको हो ।

क्यानको अनुपस्थितिमै नेपाली क्रिकेटरहरुले देशलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका थिए । अहिले नेपालमा क्रिकेटको अभिभावक त छ तर सबैभन्दा ठूलो डर नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुम्ने नै छ ।