आयरल्याण्ड माथि इंग्ल्यान्डको सहज जित
क्रीकेटिङ्ग नेपाल     २०७७-०४-१६

डेभिड विलीको पाँच विकेट र साम बिलिङ्ग्सको अर्धशतकको मद्धतमा वर्ल्डकप सुपर लिग अन्तर्गत पहिलो शृङ्खलाको पहिलो एकदिवसीय खेलमा घरेलु टोली इङ्ग्ल्यान्डले आयरल्याण्ड माथि छ विकेटकको जित हात पारेको छ । यस जितसँगै इंग्ल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

१७३ रनको झिनो लक्ष्य लिएर ब्याटिङमा आएको इंग्ल्यान्डले सुरवातमा नै लगातार रुपमा विकेट गुमाए पनि साम बिलिङ्ग्स र कप्तान इयोन मोर्गनको साझेदारीमा २७ दशमलब पाँच ओभर खेल्दै चार विकेटको नोक्सानीमा जित आत्मसाथ गरेको हो ।

इंग्ल्यान्डको जितमा बिलिङ्ग्सले र मोर्गनले पाँचौं विकेटका लागि अविजित ९६ रन जोडे । ५४ बलको सामना गरेका बिलिङ्ग्सले ११ चौकाको मद्धतमा सर्वाधिक ६७ रन जोडे भने मोर्गनले ४० बल खेल्दै ३६ रनको पारी खेले ।

इंग्ल्यान्डका अन्य ब्याट्सम्यानमा जेम्स भिन्सले २५ तथा ओपनर ज्यासन रोयले २४ रनको योगदान दिए ।

आयरल्यान्डका क्रेग योङ्गले सुरवातमा नै आफ्नो टोलीलाई सफलता दिए पनि जित भने दिलाउन सकेनन् । उनले दुई विकेट हात पारे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले खराब सुरुवातका बावजुत ४४ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।

एक समय २१ दशमलब पाँच ओभरमा ७९ रनको अवस्थामा आफ्नो महत्वपूर्ण सात विकेट गुमाएको आयरल्यान्ड पारी सम्हाल्ने क्रममा कर्टिस क्याम्फ़र र एन्डी म्याकब्रेनले ६६ रनको साझेदारी गरे । त्यस्तै आयरल्याण्डको लागि क्याम्फ़रले २२ रन बनाएका केभिन ओ'ब्रायनसँग ५० रनको साझेदारी पनि गरे ।

आयरल्याण्डको तर्फबाट अविजित रहेका क्याम्फ़रले ११८ बलको सामना गर्दै सर्वाधिक ५९ रन जोडे भने म्याकब्रेनलेले पनि ४८ बल खेल्दै ४० रनको योगदान दिए । आयरल्याण्डका ओपनर ग्यारेथ डेलान्यले २२ तथा क्रेग योङ्ले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आयरल्याण्डका तीन जना ब्याट्सम्यानले त रनको खाता पनि खोल्न असमर्थ रहे ।

आयरल्याण्डलाई सस्तोमै समेट्ने क्रममा खेलको म्यान अफ द म्याच घोषित डेभिड विलीले सर्वाधिक पाँच विकेट हात पारे भने शान महमुदले दुई तथा टम कुर्रान र आदिल रशिदले समान १-१ विकेट हात पारे ।

इंग्ल्यान्ड र आयरल्याण्ड बिचको दोश्रो एकदिवसीय खेल अगस्ट एक तारिकमा हुनेछ ।