लामा र गिरी क्यान केन्द्रिय सदस्य नियुक्त
क्रीकेटिङ्ग नेपाल     २०७७-०३-१६

राष्ट्रिय खेलकुद परिषदले छुम्बी लामा र धर्मराज गिरिलाई सोमबार नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सदस्यको नियुक्ति दिएको छ ।

क्यानको बिधानमा दुई जना केन्द्रिय सदस्य राखेपले नियुक्त गर्ने प्रावधान रहेको छ । राखेप सदस्य सचिव रमेश सिलवालले गत असार १० गते लामा र गिरिलाई सदस्य नियुक्त गर्ने निर्णय गरेका थिए । सोही अनुरुप दुई जनाले सोमबार नियुक्ति पाएका हुन् ।

पोखर प्रिमियर लिग ट्वान्टी ट्वान्टी आयोजना गर्ने कम्पनी क्विन्स इभेन्ट्स प्रा लि का प्रबन्ध निर्देशक पनि रहेका छुम्बि २०६८ सालमा टंक आङ्गबुहाङ्ग नेतृत्वको क्यानबाट क्रिकेटमा प्रवेश गरेका थिए । उनी त्यो समय क्यानको कार्यालय प्रमुख रहेका थिए । त्यसपछि उनलाई प्रमुख कार्यसञ्चालन अधिकृतको नियुक्ति दिइएको थियो ।

क्यान आईसिसिको प्रतिबन्धमा रहेको समयमा लामाले नै परिषदसँगको सहकार्यमा सहजकर्ताको रुपमा काम गर्दै आएका थिए । गिरि भने मदन भण्डारी स्पोर्टस फाउण्डेसनसँग आबद्ध रहेका छन् । सिल्वाल फाउण्डेसनको अध्यक्षको रुपमा रहिसकेका छन् ।