बिश्वकप फाइनल श्रीलंकाले भारतलाई बेचेको श्रीलंकन मन्त्रीकै आरोप
क्रीकेटिङ्ग नेपाल     २०७७-०३-०४

क्रिकेटको सबैभन्दा बिवादास्पद म्याच फिक्सिङ्गको दाबीलाई ब्युताउदै श्रीलंकाका पुर्व खेलकुद मन्त्रीले २०११ को क्रिकेट बिश्वकप फाइलन श्रीलंकाले भारतलाई बेचेको आरोप लगाएका छन् ।

फाइनल फिक्स रहेको दाबी गर्ने महिन्दानन्दा अलुथगामागे १९९६ को बिश्वकप बिजेता कप्तान अर्जुना रणतुँगापछि दोश्रो बरिष्ठ व्यक्तित्व हुन् । अलुथगामागे २०११ को बिश्वकप चल्दा श्रीलंकाको खेलकुद मन्त्री रहेका थिए । मुम्बईमा भएको फाइनलमा श्रीलंका भारतसँग ६ विकेटले पराजित भएको थियो ।

२०११ को बिश्वकप फाइनल हामीले बेचेको हौं । म खेलकुद मन्त्री हुँदा पनि मलाई यो सत्य नै हो लागेको हो, अलुथगामागेले सिरासा टिभीलाई दिएको एक अन्तर्वार्तामा भनेका छन् । २०१० देखि २०१५ सम्म खेलकुद मन्त्रालय सम्हालेपछि हाल नविकरणीय उर्जा राज्य मन्त्री रहेका अलुथगामागेले त्यो समय आफूले उक्त षड्यन्त्रको खुलाशा गर्न नचाहेको पनि बताए ।

"हामी २०११ मा हामी जित्ने थियौं तर फाइनल बेचेरै छाड्यौं । मलाई लाग्छ म अहिले यो बिषयमा बोल्न सक्छु । मैले खेलाडीहरुलाई यसमा जोड्न खोजेको होइन तर केही मान्छेहरु यसमा संलग्न थिए," मन्त्रीले भने ।

भारतीय खेलाडीहरुले यो दाबीलाई पहिले देखि नै नकार्दै आइरहेका छन् । फाइलको दौरान कमेन्टरी गरेका रणतुँगाले श्रीलंकाको हारको अनुसन्धान गरिनु पर्ने बताएका थिए । "जब हामी हार्यौ, म निकै तनावमा थिए र मलाई शंका लागिरहेको थियो । म सबै कुरा अहिले नै खोल्न सक्दिन तर एक दिन भने अवश्य गर्नेछु । एक पटक अनुसन्धान त हुनै पर्छ," खेलाडीहरुले दाग पखाल्न नसक्ने भन्दै उनले २०१७ को जुलाईमा भनेका थिए ।

फाइनलमा पहिलो ब्याटिङ्ग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ७४ रन बनाएको थियो । ओपनर विरेन्द्र सहवागलाई शुन्य र सचिन तेन्दुल्करलाई १८ रनमा आउट गरेर खेलमा दवाब कायम गरेको श्रीलंकाले खराब फिल्डिङ्ग र बलिङ्गका कारण खेलमा पकड गुमाएको थियो । श्रीलंकाको नेतृत्व कुमार साँगाकाराले गरेका थिए ।

हाल बिश्व क्रिकेटलाई नियमन गर्ने बेलायतको प्रतिष्ठित तथा ऐतिहासिक मेरिलबोन क्रिकेट क्लबका अध्यक्ष रहेका साँगाकाराले अलुथगामागेलाई आफ्नो दाबी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल समक्ष पुर्याउन सुझाव दिएका छन् । "उनले आफ्नो दाबी प्रमाण सहित आईसिसिमा लिएर जादा हुन्छ । यसो गर्दा आईसिसिले राम्ररी अनुसन्धान गर्न सक्छ, निकै आदर्श कप्तानको रुपमा लिइने गरेका साँगाकाराले ट्विटमार्फत भनेका छन् ।

श्रीलंका क्रिकेट लामो समयदेखि नै म्याच फिक्सिङ्ग बिवादमा तानिदै आएको छ । सन् २०१८ मा इङ्गल्याण्डबिरुद्धको टेस्टअघि पनि फिक्सिङ्गको बिवाद बाहिर आएको थियो । केही दिनअघि मात्र आईसिसिले श्रीलंकाका तीन पुर्व खेलाडीलाई लिएर अनुसन्धान गरिरहेको त्यहाको क्रिकेट बोर्डले बताएको थियो । खेलाडीहरुको नाम भने अहिलेसम्म उल्लेख गरिएको छैन ।