जिम्बाबे माथि ट्वान्टी ट्वान्टीमा बंगलादेशको फराकिलो जीत
क्रीकेटिङ्ग नेपाल     २०७६-११-२६

ब्याटिंङ तर्फ सौम्य सरकार र लिटन दास तथा बलिङ तर्फ मुस्तफिजुर रहमान तथा अमिनुल इस्लाम चम्किए पछि जिम्बाब्वे बिरुद्धको पहिलो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा बंगलादेशले ४८ रनको फराकिलो जीत हात पारेको छ । यस जीतसँगै बंगलादेशले दुई ट्वान्टी ट्वान्टी खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

जीतका लागि बंगलादेशले दिएको २०१ रनको बिशाल लक्ष्य लिएर ब्याटिंङ गर्न आएको जिम्बाब्वेले १९ ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १५२ रन बनाउन सक्यो ।

जिम्बाब्वेलाई सस्तैमा रोक्ने क्रममा बंगलादेशका मुस्तफिजुर रहमान तथा अमिनुल इस्लामले समान ३-३ विकेट हात पारे । रहमानले चार ओभरमा ३२ रन खर्चिए भने इस्लामले तीन ओभरमा ३४ रन दिए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको बंगलादेशले सौम्य सरकार र लिटन दासको अर्धशतकमा पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा २०० रनको बिशाल योगफल बनायो ।

बंगलादेशको लागि अविजित रहँदै तुफानी पारी खेलेका सरकारले ३२ बलमा चार चौका र पाँच छक्काको मद्धतमा सर्वाधिक ६२ रन बनाए भने ओपनर दासले पनि ३९ बल खेल्दै ५९ रन बनाए । उनीहरु बाहेक अर्का ओपनर तामिम इकबालले ४१, मुश्फिकर रहिमले १७ तथा कप्तान महमुदउल्लाहले पनि अविजित १४ रनको पारी खेले ।

शुरुवात देखि नै आक्रमक देखिएका बंगलादेशका ओपनरहरु दास र इकबालले पहिलो विकेटका लागि १० दशमलब दुई ओभरमा ९२ रन जोडे । त्यस्तै चौथों विकेटका लागि इकबालले कप्तान महमुदउल्लाहसँग मिलेर २५ बलमा ५४ रन जोडे ।

बंगलादेशले आफ्नो अन्तिम पाँच ओभरमा ७५ रन जोडेको थियो । खेलमा अन्तिम ३० बल रहँदा सम्मको स्थितीमा १४ बलमा १८ रन बनाएका इकबालले पछिल्लो १८ बलमा ४४ रन जोडेका थिए ।