खराब 'बडी ल्याङ्गवेज' भएको नेपाललाई झिनो आशा
क्रीकेटिङ्ग नेपाल     २०७६-११-२०

लगातार दुई खेलमा पराजित भएपछि गणितीय सम्भावना मात्र बाकी रहेको नेपालले एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्समा बुधबार थाइल्याण्डको सामना गर्दैछ ।

टर्डथाइ क्रिकेट ग्राउण्डमा साढे ९ बजे हुने खेलमा नेपाललाई फराकिलो अन्तरको जित आवश्यक रहनेछ । नेट रनरेटको आधारमा सम्भावना कायम राख्नका लागि नेपाललाई थाइल्याण्ड मात्र नभएर अन्तिम खेलमा सिँगापुरलाई पनि फराकिलो अन्तरले हराउनु पर्नेछ ।

तर नेपालाई त्यतिले मात्र पुग्ने भन्ने छैन । रनरेटको आधारमा नेपाललाई एसिया कप क्वालिफायर्समा प्रवेश गराउनका लागि हँगकँगले पनि सिँगापुर र मलेशियालाई भारी अन्तरले जित्नु पर्नेछ । सिँगापुर, हँगकँग र मलेशियाको समान चार अंक रहेको छ ।

मँगलवारको खेलमा मलेशियालाई १ सय २८ रनले ध्वस्त पारेको सिँगापुर नेट रनरेटका आधारमा शिर्ष स्थानमा रहेको छ । सिँगापुरले आफ्नो पहिलो खेलमा पनि थाइल्याण्डबिरुद्ध ५९ रनको बिशाल जित दर्ता गरेको थियो ।

हँगकँगसँग ४३ रनले पराजित भएको नेपाल मलेशियासँग पनि २२ रनले पराजित भएको थियो । निकै नै खराब क्रिकेट खेलिरहेको नेपालले थाइल्याण्डमा पहिलो दुई खेलमा खराब ब्याटिङ्ग गरेको थियो । नेपालको नाममा प्रतियोगितामा एक पनि अद्र्धशतक रहेको छैन । कप्तान ज्ञानेन्द्र मल्लले पहिलो दुई खेलमा ३८ र ४५ रन बनाएका थिए भने दिपेन्द्र सिँह ऐरिको नाममा पनि ३८ रन रहेको थियो ।

बलिङ्गमा पनि निराशाजनक प्रदर्शन गरेको नेपालले दुवै टोलीलाई एक समय दवाबमा राख्दै पुनरागमन गरेपछि १ सय ५४ रन बनाउन दिएको थियो । थाइल्याण्डमा नेपाली खेलाडीहरु प्रदर्शनका आधारमा मात्र नभई 'बडी ल्याङ्गवेज' मा पनि सकारात्मक नदेखिएकाले नेपालबाट कमै आशा गरिएको छ ।

नेपाली टोली डग आउटमा पनि शान्त देखिएको छ भने विकेटको खुशियाली पनि बिरलै मनाउने गरेका छन् । पहिलो दुई खेलमा अधिकांश ब्याट्स्म्यानहरुले गैर जिम्मेवारीपूर्ण शट खेल्दा आउट भएका थिए । किर्तिपुरमा फेब्रुवरी ५ देखि १२ सम्म सहभागी नेपाली टोली र अहिले थाइल्याण्डमा रहेको टोलीमा पूर्ण रुपमा फरक रहेको छ ।

थाइल्याण्ड प्रतियोगिताकै सबैभन्दा कमजोर टोली रहेपनि निकै कमजोर देखिएको नेपाललाई कडा चुनौति दिदा अनौठो मान्नु नपर्ने स्थिति आइपुगेको छ । नेपालका प्रशिक्षक जगत दमाटाले बिश्वास गरिएका खेलाडीहरुले आफ्नो जिम्मेवारी नबुझ्दा टोलीले खराब प्रदर्शन गरेको बताउदै आएका छन् । उनले नामै लिएर खेलाडीहरु औल्याउन भने चाहेनन् ।

"देशको लागि खेलिरहेका खेलाडीहरुले जर्सी लाउनुको अर्थ बुझिरहेका छैनन् । खेलाडीहरुलाई आफ्नो जिम्मेवारीको बारे ज्ञान हुनु आवश्यक छ । यो स्तरमा हामीले यस्तो प्रदर्शन गर्न सक्दैनौ," टमाटाले भने ।