वेस्ट इण्डिज माथि श्रीलंकाको रोमान्चक जीत
क्रीकेटिङ्ग नेपाल     २०७६-११-१०

आठौं नम्बरमा ब्याटिंङ गर्न आएका वानिन्दु हसरंगाले अविजित ४२ रन प्रहार गरे पछि घरेलु टोली श्रीलंकाले वेस्ट इण्डिज बिरुद्धको पहिलो एकदिवसीय खेलमा एक विकेटको रोमान्चक जीत हात पारेको छ ।

२९० रनको चुनौतिपुर्ण योगफल लिएर ब्याटिंङमा आएको श्रीलंकाले ४९ दशमलब एक ओभरमा नौं विकेटको नोक्सानीमा जीत हात पार्यो ।

श्रीलंकाको लागि ओपनरद्वय अभिषेक फर्नान्ड़ो र कप्तान दिमुथ करुणारत्ने पहिलो विकेटका लागि १८ ओभरमा एक सय ११ रन जोड्दै राम्रो शुरुवात दिए । करुणारत्ने ५७ बलमा ५२ तथा फर्नान्ड़ो ५५ बलमा ५० रन बनाएर आउट भए ।

त्यस पछि तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका कुशल परेरा ४२ रनमा आउट भए भने त्यस पछिका ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् । एक समय हार तर्फ उन्मुख रहेको श्रीलंकाको लागि थिसारा परेराले २२ बलमा ३२ रनको योगदान दिए भने आठौं नम्बरमा ब्याटिंङ गर्न आएका वानिन्दु हसरंगाले ३९ बलमा चार चौका र एक छक्काको मद्धतमा अविजित ४२ रन प्रहार गर्दै श्रीलंकाको जीत सुनिश्चित गरे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको वेस्ट इण्डिजले पुरै ५० ओभर खेल्दै सात विकेटको नोक्सानीमा २८९ रनको चुनौतीपूर्ण योगफल तयार पार्यो ।

वेस्ट इण्डिजका ओपनर तथा विकेट किपर ब्याट्सम्यान शे होपले सर्वाधिक ११५ रन प्रहार गरे । १४० बलको सामना गरेका उनले १० चौका प्रहार गरे । पछिल्लो १५ एकदिवसीय खेलमा होपको यो छैठौं शतक हो भने समग्रमा आठौं शतक हो ।

होप बाहेक रोस्टन चेजले ४१ तथा डेरेन ब्राभोले ३९ रनको योगदान दिए भने अविजित रहेका किमो पौल र हेडेन वाल्शले तुफानी पारी खेल्दै क्रमसः १७ बलमा ३२ रन र आठ बलमा २० रन बनाए ।

श्रीलंकाका इसुरु उडानाले सर्वाधिक तीन विकेट लिए । महँगो साबित भएका उनले १० ओभरमा ८२ रन खर्चिए ।