महिला टोलीलाई पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्ट
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२७

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला टोलीलाई पनि सेन्ट्रल कन्ट्रयाक्ट दिने भएको छ ।

क्यानले आज आफ्नो फेसबुक पेजमा पोस्ट राख्दै महिला खेलाडीलाई पनि सेन्ट्रल कन्ट्रयाक्ट राख्ने जनाएको हो । महिला खेलाडीहरुलाई सेन्ट्रल कन्ट्रयाक्ट दिन लागिएको यो पहिलो पटक हो । क्यानले अहिलेको लागि १८ जना महिला खेलाडीलाई ए, बी र सी गरेर तीन समुहमा बिभाजन गरेर सेन्ट्रल कन्ट्रयाक्ट दिने निर्णय गरेको हो ।

त्यस्तै क्यानले यस अघि पुरुष खेलाडीलाई गरेको सेन्ट्रल कन्ट्रयाक्ट पनि निरन्तरता दिने निर्णय गरेको छ । पुरुष तर्फ २४ जना राखिने र उनीहरुलाई पनि ए, बी र सी गरि तीन समुहमा राख्ने भएको छ ।

त्यस्तै क्यानले नेपाली राष्ट्रिय टोलीले खेल्ने प्रत्येक एकदिवसीय र ट्वान्टी ट्वान्टी खेलमा खेलाडीहरुलाई म्याच फी स्वरुप प्रति म्याच पाँच हजार दिने भएको छ । क्यानले नेपाली खेलाडीले म्याच फी दिने निर्णय पनि पहिलो पटक गरेको हो ।

करिब चार बर्ष अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) को निलम्बनमा परेको क्यानले निलम्बन फुकुवा भएर आए पछि पहिलो पटक एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । क्यानले चैत्रको तेश्रो शाता अर्थात् एभरेस्ट प्रिमिएर लिग (ईपीएल) लिग पछि आयोजना गर्ने भएको हो ।