भारतलाई दोश्रो एकदिवसीयमा पनि पराजित गर्दै न्युजिल्याण्डले श्रृंखला जित्यो
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२५

न्युजिल्याण्डले भारतलाई लगातार दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै एक म्याच बाकी छदै तीन म्याचको श्रंखलामा २–० ले कब्जा जमाएको छ ।

माथिल्लो क्रमका ब्याट्स्म्यानहरुले उल्लेखनीय योगदान दिएपछि न्युजिल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७३ रन बनायो । जवाफमा भारत ४८ दशमलव ३ ओभरमा २ सय ५१ रनमै समेटिएको थियो । पहिलो एकदिवसीयमा न्युजिल्याण्डले भारतबिरुद्ध ३ सय ४८ रनको बिशाल योगफल पछ्याएका थियो ।

न्युजिल्याण्डलाई शनिबार उत्कृष्ट शुरुवता दिलाउने क्रममा मार्टिन गप्टिल र हेन्री निकोल्स (४१) ले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । न्युजिल्याण्डका टम ब्लन्डेलले २२ रनको मात्र योगदान दिएपनि पहिलो एकदिवसीयमा शतक प्रहार गरेका रोस टेलरले अर्को आकर्षक इनिङ्गस खेल्दै सम्हालेका थिए ।

टेलरले ७४ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७३ रन बनाए । गप्टिलले ७९ बलमा ८ छक्का र तीन चौका प्रहार गर्दै ७९ रन बनाए । १० नम्बरमा ब्याटिङ्ग गर्न आएका काइल जेभिसनले २५ रनको योगदान दिएका थिए । भारतका लागि युजभेन्द्र चाहालले तीन र शार्दुल ठाकुरले दुई विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्ग गर्दा भारतले ९६ रनमै पाँच विकेट गुमाएको थियो । श्रेयस ऐयरले मिडल अर्डरबाट ५२ रन बनाउै भारतलाई खेलमा राखेपनि न्युजिल्याण्डले चाहिएको समयमा विकेट निकाल्न सफल भएको थियो । ऐयरले ५७ बलमा ७ चौका र एक छक्का प्रहार गरे ।

सातौं नम्बरमा ब्याटिङ्ग गर्न आएका रविन्द्र जडेजा ५५ रनमा आउट भएका थिए भने नवदिप सैनीले ४९ बलमा ४५ रन बनाए । न्युजिल्याण्डका लागि हमिस बेनेट, टिम साउदी, कोलिन डि ग्राण्डहोम र म्यान अफ द म्याच जेमिसनले दुई–दुई विकेट लिएका थिए ।