अमेरिकाको पाँच विकेट गयो, भारीले आफ्नो पहिलो बलमै विकेट लिए
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२५

करण केसी र सन्दिप लामिछानेले उत्कृष्ट शुरुवता दिलाएपछि नेपालले अमेरिकालाई आईसिसि क्रिकेट बिश्वकप क्रिकेट लिग टु अन्तर्गतमा थप दवाबमा राखेको छ ।

त्रिवि मैदनमा जितका लागि १ सय ९१ रन पछ्याइरहेको अमेरिकालाई करण र सन्दिपले दुई–दुई विकेट लिदै १३ रनमा चार खेलाडीलाई पेभिलियन फर्काएका थिए । केही सम्हालिएर खेलेपछि पहिलो ओभर लिएर आएका सुसन भारीले पहिलो बलमै विकेट लिएका थिए ।

शान्दार डेब्यु गर्दै ओमानबिरुद्धको खेलमा १० ओभरमा १४ रनमात्र खर्चिएर तीन विकेट लिएका भारीले अक्षय होमराजलाई विकेटकिपर बिनोद भण्डारीको हातबाट क्याच आउट गराएका थिए ।

ओपनर आरोन जोन्सलाई सन्दिपले चौका खाएको अर्को बलमै एलबिडब्लु धरापमा पारेका थिए । आफ्नो दोश्रो ओभरमा करणले स्टेभन टेलरलाई शुन्यमै पेभिलियन फर्काए । तेश्रो ओभरको अन्तिम बलमा करणले जेभियर मार्सललाई पनि दुई रनमा विकेट पछाडी बिनोद भण्डारीको हातबाट क्याच आउट गराएका थिए ।

नेपालले खेलमा कुशल मल्लको किर्तिमानी एकदिवसीय अन्तर्राष्ट्रिय अद्र्धशतक र बिनोद भण्डारीको ५९ रनको मद्दतमा ४९ दशमलव दुई ओभरमा अल आउट हुदै १ सय ९० रन बनाएको थियो । ४९ रनमा पाँच विकेट गुमाएको नेपाललाई कुशल र भण्डारीले ८४ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ धकेलेका थिए ।