नेपालको उत्कृष्ट शुरुवात, अमेरिकाको तीन ओभरमा तीन विकेट गयो
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२५

करण केसी र सन्दिप लामिछानेले पहिलो तीन ओभरमा उत्कृष्ट बलिङ्ग गरेपछि नेपालले अमेरिकाबिरुद्ध उत्कृष्ट शुरुवात गरेको छ ।

जितका १ सय ९१ रन पछ्याइरहेको अमेरिकाका ओपनर आरोन जोन्सलाई सन्दिपले चौका खाएको अर्को बलमै एलबिडब्लु धरापमा पारेका थिए । पहिलो ओभरमा करण केसीले मात्र एक रन खर्चिएका थिए । आफ्नो दोश्रो ओभरमा करणले स्टेभन टेलरलाई शुन्यमै पेभिलियन फर्काए ।

तेश्रो ओभरको अन्तिम बलमा करणले जेभियर मार्सललाई पनि दुई रनमा विकेट पछाडी बिनोद भण्डारीको हातबाट क्याच आउट गराएका थिए ।

नेपालले खेलमा कुशल मल्लको किर्तिमानी एकदिवसीय अन्तर्राष्ट्रिय अद्र्धशतक र बिनोद भण्डारीको ५९ रनको मद्दतमा ४९ दशमलव दुई ओभरमा अल आउट हुदै १ सय ९० रन बनाएको थियो । ४९ रनमा पाँच विकेट गुमाएको नेपाललाई कुशल र भण्डारीले ८४ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ धकेलेका थिए ।

कुशलले ५१ ब्लमा ५० रन बनाएका थिए । उनले तीन छक्का र चार चौका प्रहार गरेका थिए । भण्डारीले छ चौका र एक छक्का प्रहार गरे । अमेकिाका लागि क्यामरुन स्टेभेन्सनले तीन विकेट लिएका थिए भने रस्टी थेरोन र सौरभ नेत्रवाल्करले पनि दुई–दुई विकेट लिएका थिए ।