कठिन स्थितिमा रहेको नेपाललाई कुशल र भण्डारी सम्हाल्दै
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२५

आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गत अमेरिकाबिरुद्धको खेलमा कमजोर अवस्थामा रहेको नेपाललाई कुशल मल्ल र बिनोद भण्डारीले सम्हालिरहेका छन् ।

त्रिवि मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेको नेपालले ४९ रनमै पाँच विकेट गुमाएको थियो । निकै नै सकारात्मक बडी ल्याङ्गवेजमा खेलिरहेका कुशलले बिनोद भण्डारीसँग मिलेर छैटौं विकेटका लागि ४७ रनको साझेदारी गरेका छन ।

कुशलले दुई छक्का पनि प्रहार गरेका छन् । खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काबीच दोश्रो विकेटका लागि ४० रनको साझेदारी बाहेक नेपालले खासै केही गर्न सकेको थिएन । सुभाष खकुरेल (तीन) लाई चौथो ओभरमा गुमाएपछि पारस र ज्ञानेन्द्रले नेपाललाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर नेपालले त्यसपछि तीन रनको अन्तरमा चार विकेट गुमाउन पुग्यो । ज्ञानेन्द्रले ३९ बलमा चार चौकाको मद्दतमा २१ रन बनाएका थिए भने पारस १९ रनमा पेभिलयन फर्केका थिए । उनले ५२ बलमा दुई चौका प्रहार गरे । नेपालले २९ं ओभरमा ९६ रन बनाएको छ ।