सबैले प्रतिक्षा गरिरहेका सुभाष
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२४

आदर्श ढकाल, काठमाडौं

शरद भेषावकरलाई चोटका कारण गुमाएको नेपालले आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गतको आफ्नो दोश्रो खेलमा शनिबार अमेरिकाको सामना गर्दा समर्थकहरु सुभाष खकुरलेको ओपनिङ्गको प्रतिक्षामा रहनेछन् ।

ओमानबिरुद्ध १८ रनले पराजित हुदा शरदले जुझारु इनिङ्गस खेल्दै ५५ रन बनाएका थिए । कम्मर भन्दा माथि चोट बोकेका शरदलाई उनको इनिङ्गसको बीचमा फिजियोले उपाचार नै गर्नु परेको थियो । बिहिबार शरदलाई थप निगरानीमा राख्दा उनलाई १० दिन बिश्राम गर्ने सुझाव दिइएको थियो ।

उनको स्थानमा पालो आयो बैकल्पिकमा रहेका सुभाषको । हुन त नेपाल क्रिकेट संघले आधिकारिक रुपमा यसको पुष्टि नगरेपनि सुभाष टोलीमै आइसकेका छन् । क्यानले शरदको स्थानमा सुभाषको नाम पठाइसके पनि आईसिसि मुख्यालय दुबईमा कार्यालय बिदा रहेको हुदा युएईबाट साझसम्म पनि कुनै पत्र आइसकेको भने छैन ।

क्रिकेट संघका सचिव अशोक नाथ प्याकु¥यालले शरदको स्थानमा सुभाष आउने पक्का पक्की भैसकेको र आफूहरु आधिकारिक जवाफमात्र कुरिरहेको जानकारी दिए । सुभाषको आगमनले शुक्रबार दिउसो देखि नै नेपाली समर्थकहरु भने शनिबारको लागि ब्यग्रताका साथ कुरेर बसिरहेका छन् । कारण हो शनिबारको प्रतिद्वन्दी अमेरिका र सुभाषको बिगत ।

सन् २०१० मा पारस खड्काले कप्तानी सम्हालेको पहिलो आईसिसि प्रतियोगिता (डिभिजन फाइभ) मा शरद भेषावकरले फिजी बिरुद्ध शतक प्रहार गरेका थिए । त्यसपछि भने नेपाली क्रिकेटमा शतकको खडेरी लाग्यो । रोय डायसले नेपाली टोली छोडे र उनको स्थानमा आए अर्का श्रीलंकन पुबुदु दासानायके ।

दासानायकेको आगमनपछि ब्याटिङ्ग सुध्रिएको शंका चलिरहदा नेपाल डिभिजन फोर खेल्न २०१२ को सेप्टेम्बरमा नेपाली टोली मलेसिया पुग्यो । एकै स्तरको प्रतिद्वन्दी अमेरिकाबिरुद्ध नेपालले २ सय ५८ रन प्रहार ग¥यो र शतकको खडेरी तोडे सुभाषले । त्यही प्रतियोगितामा अनिल मण्डलले पनि डेनमार्क बिरुद्ध शतक ठोके ।

सुभाषले शतकको खडेरी मात्र तोडेका थिएनन् । उनले नेपाली टोलीलाई ओपनिङ्गको समस्याबाट मुक्त गराए । उनी दासानायकेको योजनाको महत्वपूर्ण हिस्सा बने र नेपालले बिश्व क्रिकेटको खुड्किलो चढ्दै गर्दा धेरै महत्वपूर्ण प्रदर्शन पनि दिए ।

सुभाष र अनिलले शतक प्रहार गरेको एक महिना नबित्दै नेपाल एसिसि ट्रफि एलिटका लागि युएई गयो । उक्त प्रतियोगितामा कप्तान पारस खड्काले कुवेतबिरुद्ध आक्रमक शतक प्रहार गरे । खेलमा नेपाल पराजित भएपनि एक महिनाको अन्तरालमा तीन वटा शतकले नेपाली ब्याटिङ्गलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भयो । यसको श्रेय सुभाषलाई पनि जान्छ ।

अक्टुबरमा भएको एसिसि ट्रफि एलिटको फाइनलमा नेपाललाई उपाधि जित्न युएईले २ सय ४२ रनको लक्ष्य दियो । सुभाषले अनिलसँग मिलेर पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट शुरुवता दिलाए । उतार चढाव पूर्ण रहेको फाइनलमा सुभाषले ७४ बलमा ५५ रन बनाए, नेपालले पनि २ सय ४१ रन बनायो ।

खेल बराबर भएपछि दुवै टोलीले ट्रफि बाढे, नेपाल पहिलो पटक एसिसि ट्रफिको च्याम्पियन भयो । यसअघि नै समुह चरणमा युएईलाई आफ्नो एकदिवसीय क्रिकेट इतिहासमै पहिलो पटक पराजित गरेको नेपाल एक महिनाको अन्तरमा पूर्णरुपले फरक टोलीको रुपमा अघि आयो । सुभाष त्यसको केन्द्रमा रहे ।

सन् २०१३ मा बर्मुडामा भएको डिभिजन थ्रि सम्म पनि सुभाषले टोलीका लागि उल्लेखनीय योगदान दिए त्यसपछि आयो न्युजिल्याण्डको बिर्सन लायक २०१४ को एकदिवसीय बिश्वकप क्वालिफायर । पछिल्लो दुई बर्ष नेपाली ब्याटिङ्गको मेरुदण्ड बनेका सुभाष र पारस दुवै पूर्ण रुपमा फिट रहेनन् ।

एकदिवसीय बिश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने १०–टिम सम्मिलित क्वालिफायरमा नेपाल नवौं भयो । तीन बर्षदेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि गर्दै आएको मिहिनेत पानीमा बह्यो । हुन त सुभाषले त्यसपछि बङ्गलादेशमा भएको आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपमा पनि अफगानिस्ताबिरुद्ध अद्र्धशतक ठोकेका थिए तर उक्त उपलब्धिले उनलाई क्षणिक खुशी मात्र दियो ।

बिश्वकपपछि पाएको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता र डिभिजन थ्रिमा रहको नेपालले पहिलेको तुलनामा एशोसिएट क्रिकेटका राम्रा प्रतिद्वन्दी खेल्न थालेको थियो । र सुभाषको प्रदर्शन एक समान हुन छोड्न थाल्यो । टिममै रहेपनि उनले २०१४ मै मलेसियामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन थ्रिमा आफ्नो स्थान गुमाए ।

युगाण्डाबिरुद्धको फाइनलमा दासानायकेले सागर पुन र नरेश बुढाएरको जोडीलाई ओपनिङ्ग पठाए । उनीहरुले शतकीय साझेदारी गरेपछि नेपालले ६२ रनले खेल जित्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो । नेपाली एकदिवसीय क्रिकेटमा पछिल्लो पाँच बर्षमा सबैभन्दा ठूलो साझेदारी पनि त्यही नै हो । सुभाषको अनुपस्थिती सागर र नरेश फेरि पनि ओपनिङ्गका लागि प्रयास गरिएका थिए तर चाहे अनुरुपको शुरुवात नपाएको लामो समय भैसकेको छ ।

अनिल मण्डल टिमबाट भित्र बाहिर र सुभाष आफै कहिले लय गुमाउने त कहिले अस्वस्थ हुन थालेपछि नेपाली टोली लामो समयदेखि राम्रो ओपनिङ्ग जोडीको लागि संघर्ष गर्दै नै आइरहेको छ । चोटको समस्याबाट मुक्त हुन नसक्दा सुभाषले वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा १४ मध्ये दुई खेलमात्र खेले । नोभम्बर, २०१५ मा पपुव न्युगिनी बिरुद्ध युएईमा भएको एक खेलमा उनले ६३ रन बनाएका थिए । चोटकै कारण उनी लगभग तीन बर्ष बाहिर बसे र अगष्ट २०१८ मा नेदरल्याण्ड्सबिरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाका लागि टोलीमा फर्किए ।

दुई मध्ये दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा मौका पाएका सुभाषले १९ रन बनाए । अगष्टमै एसिया कप क्वालिफायरमा सुभाषले युएईबिरुद्ध ५० रन जोडे । यो उनको पहिलो एकदिवसीय अद्र्धशतक थियो तर उक्त प्रतियोगिता भर नेपालले निराशाजनक प्रदर्शन गर्न पुग्यो । सुभाष टोलीबाट फेरि पनि बाहिरिए ।

नेपाली टोलीले ओमानबिरुद्ध लिग टुको आफ्नो पहिलो खेलमा पारस र कप्तान ज्ञानेन्द्र मल्लको रुपमा नयाँ ओपनिङ्ग जोडी पठायो । दुवै जना चार रनको अन्तरमा पेभिलियन फर्केपछि समर्थकहरु यो प्रयासलाई राम्ररी लिइरहेका छैनन् ।

नेपालले शनिबार १५ हजार दर्शक आउने अपेक्षा गरिएको खेलमा अमेरिकाको सामना गरिरहेको छ । सुभाषले मुलपानीमा भएको अभ्यास खेलमा नटआउट ५२ रन बनाएका थिए । कप्तान ज्ञानेन्द्रका अनुसार सुभाषको स्थानलाई लिएर आधिकारिक निर्णय भएमा शनिबार नयाँ जोडीले ओपनिङ्ग गर्ने लगभग तय छ । त्यसैले सबैको आखा सुभाष मै छ ।