न्युजिल्यान्ड बिरुद्ध भारत : रोहितको अर्धशतकमा भारतले दियो १६४ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-१९

कप्तान रोहित शर्माको अर्धशतकको मद्धतमा भारतले घरेलु टोली न्युजिल्यान्डलाई पाँचौं तथा अन्तिम ट्वान्टी ट्वान्टी शृंखलामा जीतका लागि १६४ रनको लक्ष्य दिएको छ ।

खेलमा टस जीतेर पहिले ब्याटिंङ गरेको भारतले तीन विकेटको नोक्सानीमा १६३ रनको योगफल तयार पार्यो ।

भारतको तर्फबाट रिटायर्ड हर्ट हुनु अघि आजको खेलमा कप्तानी गरिरहेका रोहित शर्माले ४१ बलको सामना गर्दै समान ३-३ चौका र छक्काको मद्धतमा ६० रन बनाए । आठ रनको अवस्थामा दुई रन बनाएका सन्जु सामसनलाई गुमाएर खराब शुरुवात गरेको भारतको पारी सम्हाल्ने क्रममा तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका रोहित अर्का ओपनर केएल राहुलसँग मिलेर १० ओभरमा ८० रन जोडे । ३३ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरेका राहुल ४५ रनमा आउट भए ।

भारतको पारी सम्हाल्ने क्रममा चौथों नम्बरमा ब्याटिंङ गर्न आएका श्रेयस ऐयर र छैठौं नम्बरमा ब्याटिंङ गर्न आएका मनिष पाण्डेले अविजित रहँदै क्रमसः ३१ बलमा ३३ तथा चार बलमा ११ रनको पारी खेले ।

न्युजिल्यान्डका स्कट कुज्गेलेइज्नले किफायती बलिङ गर्दै चार ओभरमा २५ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे ।

पाँच खेलको शृंखलामा पाहुना टोली भारत ४-० ले अघि रहेकाले गर्दा आजको खेल जीत्दै क्लिन स्विप गर्ने दाउमा हुनेछ भने न्युजिल्यान्ड सान्त्वना जीतको खोजीमा हुनेछ ।

पहिलो ट्वान्टी ट्वान्टी खेलमा २०४ रनको विशाल लक्ष्य छ विकेटले तथा दोश्रो ट्वान्टी ट्वान्टीमा १३३ रनको लक्ष्य सात विकेटले भारतले आफ्नो पक्ष्यमा पारेको थियो । त्यस्तै बाँकी दुई खेलमा न्युजिल्यान्ड सुपर ओभरमा पराजित भएको थियो ।