चौथो ट्वान्टी ट्वान्टीमा भारतले न्युजिल्याण्डलाई दियो १६६ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-१७

मनिष पाण्डेले अद्र्धशतक प्रहार गरेपछि भारतले न्युजिल्याण्डलाई चौथो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय ६६ रनको लक्ष्य दिएको छ ।

यसअघि नै पाँच म्याचको श्रृंखलामा ३–० ले कब्जा जमाइसकेको भारतले वेलिङ्गटनमा पहिलो ब्याटिङ्ग गर्दै २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । टप अर्डरमा लोकेश राहुलले केही आकर्ष शटहरु खेलेपनि मिडल अर्डर चल्न नसक्दा भारत एक समय कम योगफलमै समेट्ने देखिएको थियो ।

तर छैटौं नम्बरमा ब्याटिङ्ग गर्न आएका पाण्डेले ३६ बलमा अद्र्धशतक पुरा गर्दै चुनौतिपूर्ण योगफलतर्फ धकेलेका थिए । मनिषले तीन चौकाको मद्दतमा नटआउट ५० रन बनाए । ८८ रनमै ६ विकेट गुमाएको भारतीय इनिङ्गसलाई पाण्डेले शार्दुल ठाकुर (२०) सँग ४३ रनको साझेदारी गर्दै उकासेका थिए ।

राहुलले २६ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३९ रन बनाए । कसिलो बलिङ्ग गरेका इश सोधीले न्युजिल्याण्डका लागि चार ओभरमा मात्र २६ रन खर्चिएर तीन विकेट लिएका थिए । यस्तै हमिस बेनेटले पनि दुई विकेट हात पारे ।