यु१९ विश्वकप : भारतसँग निरह जापान
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-०७

दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकप अन्तर्गत आफ्नो दोश्रो खेलमा भारतले जापान माथि १० विकेटको फराकिलो जीत दर्ता गराएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको जापानले २२ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ४१ रन बनाउन सक्यो भने जवाफी ब्याटिंङ गरेको भारतले चार दशमलब पाँच ओभरमा कुनै पनि विकेट नगुमाई जीत दर्ता गर्यो ।

पहिलो पटक यु१९ विश्वकपमा सहभागिता रहेको जापान यु१९ विश्वकपको इतिहासमा दोश्रो सबैभन्दा कम स्कोरमा समेटिएको हो । यु१९ विश्वकपमा सबै भन्दा कम स्कोरमा स्कटल्यान्ड समेटिएको थियो । सन् २००४ को यु१९ विश्वकपमा स्कटल्यान्ड अस्ट्रेलिया बिरुद्ध २२ रनमा समेटिएको थियो । त्यस्तै यस अघि क्यानडा र बंगलादेश समान ४१ रनमा अलआउट भएका थिए ।

जापानलाई सस्तैमा समेट्ने क्रममा रवि विश्नोईले सर्वाधिक चार विकेट लिए भने कार्तिक त्यागीले तीन तथा आकाश सिंहले पनि दुई विकेट हात पारे । आठ ओभर बलिङ गरेका विश्नोईले तीन मेडन ओभर राख्दै मात्र पाँच रन खर्चिए भने त्यागीले ६ ओभरमा १० रन दिए ।

जापानका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् भने पाँच जना ब्याट्सम्यानले रनको खाता पनि खोल्न भ्याएनन् ।

भारतको तर्फबाट अविजित रहेका यशस्वी जैसवाल र कुमार कुशाग्रले क्रमसः १८ बलमा २९ तथा ११ बलमा १३ रन प्रहार गरे ।