यु१९ विश्वकप : भारत बिरुद्ध जापान किर्तिमानी कम योगफलमा अलआउट
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-०७

दक्षिण अफ्रिकामा जारी यु१९ विश्वकप अन्तर्गत आफ्नो दोश्रो खेलमा भारत बिरुद्ध जापान ४१ मात्र रनमा समेटिएको छ । पहिलो पटक यु१९ विश्वकपमा सहभागिता रहेको जापान यु१९ विश्वकपको इतिहासमा दोश्रो सबैभन्दा कम स्कोरमा समेटिएको हो ।

यु१९ विश्वकपमा सबै भन्दा कम स्कोरमा स्कटल्यान्ड समेटिएको थियो । सन् २००४ को यु१९ विश्वकपमा स्कटल्यान्ड अस्ट्रेलिया बिरुद्ध २२ रनमा समेटिएको थियो । त्यस्तै यस अघि क्यानडा र बंगलादेश समान ४१ रनमा अलआउट भएका थिए ।

खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको जापानले २२ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ४१ रन बनाउन सक्यो ।

जापानलाई सस्तैमा समेट्ने क्रममा रवि विश्नोईले सर्वाधिक चार विकेट लिए भने कार्तिक त्यागीले तीन तथा आकाश सिंहले पनि दुई विकेट हात पारे । आठ ओभर बलिङ गरेका विश्नोईले तीन मेडन ओभर राख्दै मात्र पाँच रन खर्चिए भने त्यागीले ६ ओभरमा १० रन दिए ।

जापानका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् भने पाँच जना ब्याट्सम्यानले रनको खाता पनि खोल्न भ्याएनन् ।

समुह ए मा रहेको जापानको यस अघि आफ्नो पहिलो खेल बराबरीमा सकिएको थियो । न्युजिल्यान्ड बिरुद्धको खेलमा बर्षा बाधक भए पछि दुबै टोलीले १-१ अंक बाँढेका थिए ।