काठमाडौंको बिराटनगरलाई १ सय ६० रनको चुनौतिपूर्ण लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०९-०५

जयकिसन कोल्सावालाको अद्र्धशतक र कप्तान ज्ञानेन्द्र मल्लको अर्को आक्रमक इनिङ्गसको मद्दतमा काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिगको महत्वपूर्ण खेलमा बिराटनगर टाइटन्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ ।

टस जिति पहिलो ब्याटिङ्ग गरेको काठमाडौंले २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ५९ रन बनायो । लगातार असफल रहेका गौरभ तोमर एक पटक फेरि काठमाडौंको स्कोरकार्डमा योगदान दिनबाट चुके । त्यसपछि कोल्सावालाले दुई महत्वपूर्ण साझेदारी गर्दे काठमाडौंलाई चुनौतिपूर्ण योगफल सम्म डो¥याएका थिए ।

उनले दोश्रो विकेटका लागि अमित श्रेष्ठ (१३) सँग ४३ र तेश्रो विकेटका लागि ज्ञानेन्द्रसँग ६६ रन जोड्न पुगे । ४३ बलमा ५५ रन बनाएका कोल्सावालाले पाँच चौका र दुई छक्का प्रहार गरे । यसअघिको खेलमा धनगढी ब्लुजबिरुद्ध ३७ बलमै शतक प्रहार गरेका ज्ञानेन्द्रले आफ्नो फर्मलाई निरन्रता दिदै ३३ बलमा ४५ रन बनाए ।

स्विच हिट प्रहार गर्ने क्रममा जितेन्द्र मुखियालाई शर्ट स्क्वायर लेगमा क्याच थमाएका ज्ञानेन्द्रले तीन चौका र दुई छक्का हिर्र्काए । बिराटनगरका लागि पुनित मेहराले दुई विकेट लिएका थिए । प्रतियोगिताको प्ले अफमा स्थान बनाउनका लागि काठमाडौंलाई योसँगै अर्को खेल पनि जित्नै पर्ने दवाब रहेको छ ।

पहिलो खेलमा धनगढीसँग पाँच रनले पराजित भएको बिराटनगरले आफ्नो दोश्रो खेलमा डिफेन्डिङ्ग च्याम्पियन पोखरा पल्टनलाई हराएको थियो ।