हमे ग्यारह मे ग्यारह मुस्तफा चाहिए – रोहन मुस्तफाका लागि बनेको पोखराको माहौल
आदर्श ढकाल     २०७६-०९-०४

पोखरामा जारी पोखरा प्रिमियर लिगमा अहिले सबैभन्दा बढी खुशी कोही छन् भने उनी युएईका कप्तान रोहन मुस्तफा हुन् । ब्याटिङ्ग अलराउण्डर मुस्तफा अहिले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काको टोली चितवन राइनोजबाट खेलिरहेका छन् ।

दाया हाते अफ स्पिनर र बाया हाते ब्याट्स्म्यान पोखरा प्रिमियर लिग खेलिहरेको बिदेशी खेलाडीहरु मध्ये कै ठूला नाम मध्ये पर्दछन् । उनले नेपाली ट्वान्टी ट्वान्टी फ्राञ्चाइज लिगमा राम्रो अनुभव बटुलिसकेका छन् । टिम चौराहा धनगढीलाई दोश्रो संस्करणको धनगढी प्रिमियर लिग जिताउदा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

त्यसपछि उनले गत सिजन नेपालको तीन वटै लिग खेल्न भ्याए । एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किग्स इलेभेन, पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्स र धनगढी प्रिमियर लिगमा धनगढी स्टार्सबाट । तीनवटै टोलीका कप्तान सोमपाल कामी रहेका थिए । उनी सर्वाधिक रुचाइएका बिदेशी खेलाडी मध्ये पर्दछन् ।

यो सिजन उनले पहिलो पटक सोमपालको साथ छोडे । उनी पहिलो पटक पारसको कप्तानीमा खेल्दै चितवन राइनोजको टोलीमा समावेश भए । टोली परिवर्तन गरेपनि मुस्तफाप्रति नेपाली दर्शकले देखाउने गरेको मायामा भने कुनै कमी आएको छैन ।

पोखरा प्रिमियर लिगमा पारसको टोलीको खेल हेर्न राम्र्रै संख्यामा दर्शक उपस्थित हुने गर्दछन् । पारस यसै लोकप्रिय, उनले भित्र्याएका हङ्गकङ्गका बाबर हायात, पुर्व भारतीय रणजी खेलाडी सन्नी पटेल र मुस्तफा पनि उत्तिकै लोकप्रिय ।

बाबर र सन्नीले त झन नेपाली ट्वान्टी ट्वान्टी लिगमा मुस्तफा भन्दा बढी नै अनुभव बटुलिसकेका छन् । दुवैले एक–एक पटक एभरेष्ट प्रिमियर लिगको उपाधि पनि जितेका छन् । तर लोकप्रियता कमाउने कुरामा भने मुस्तफाले पोखरामा सबै बिदेशी खेलाडीहरुलाई पछि पारेका छन् । उनी छन् नै यस्ता । दर्शकहरुले कुरा गर्दा उनी मख्ख पर्दै हास्छन् र प्रतिकृया पनि दिन्छन् ।

शुक्रबार चितवनले धनगढी ब्लुजलाई हराउदा मुस्तफा आफ्नो हाँसो रोक्न सकिरहेका थिएनन् । कारण थियो उनिसँग लँग अफमा रहेका एक हुल दर्शकले ठूलो स्वरमा हिन्दी भाषामा लगातार गरेको एकतर्फी संवाद । त्यो संवादले मैदानमा रहेको मिडिया बक्समा रहेका पत्रकारहरुलाई पनि राम्रै मनोरञ्जन दिइरहेको थियो ।

धनगढी ब्लुजले १ सय ८२ रनको बिशाल लक्ष्य पछ्याउदै गर्दा एक समय खेलको रँग उड्न थालिसकेको थियो । तर दर्शकले लगातार मुस्तफालाई ठूलो स्वरले बोलाउदै एकतर्फि वार्तालाप गर्दा सबै लामै समय हासिरहेका थिए । उनीहरु कहिले "मुस्तफा भाई, मुस्तफा भाई" भन्दै चिच्याउथे त कहिले मैदानमा सबैले सुन्ने गरि "आप फिल्डिङ पे ध्यान दो मुस्तफा भाई, आप परेशान मत होना भन्थे"।

एक दर्शकले त झन उनीसँग निरन्तर हिन्दीमा एकतर्फी संवाद गर्दा सबैलाई राम्ररी नै हसाए । उनले चिच्याउदै भने: "हमे ग्यारह मे से ग्यारह मुस्तफा चाहिए" अर्थात हामीलाई ११ जना खेलाडी मुस्तफा नै चाहिन्छ । मुस्तफाले आफ्नो हासोलाई रोक्नै सकेनन् । खेलमा ध्यान दिनुपर्ने भएकाले उनी तल झुक्दै मुसुमुस हास्दै थिए ।

मुस्तफा स्ट्रेट बाउण्डरीमा खेलकै दौरान तीन चार जना मान्छेहरुसँग कुरा गर्दै थिए झण्डै ३० मिटर टाढा रहेका ती दर्शक अझै ठूलो स्वरमा चिच्याएः "उन लोगो से बाते मत कर्ना मुस्तफा भाई, ये लोकल लोगो की आपको गेमसे भड्कानेकी साजीश हे । आप बस गेम मे ध्यान दो मुस्तफा भाई ।" (त्यो मान्छेहरुसँग कुरा नगर्नु, यो स्थानीय मान्छेहरु तपाइलाई खेलबाट भड्काउने कोशिश गर्दैछन् । तपाई आफ्नो खेलमा मात्र ध्यान दिनुस) । उनले यति भनेका मात्र के थिए उनको कुरा सुन्ने सबै मान्छेहरु गलल गर्दै हास्न थालिहाले ।"

अब मुस्तफा फिल्डिङ्ग पोजिसन परिवर्तन गर्दै मिडविकेट तिर जान्छन् । ती दर्शकहरु मुस्तफालाई पछाडीबाट मात्र देख्छन् । तर संवाद अझै समाप्त हुदैन । झण्डै ५० मिटर पर रहेका मुस्तफाको जर्सी नम्बर ८८ देखेपछि अझै ठूलो स्वरमा अर्को प्रश्न सोध्छन्ः "ये एट्टीएट का मिनिङ्ग क्या हे मुस्तफा भाई ? आपका म्याथ मे एट्टीएट आया था क्या ? (यो ८८ को मत्लव के हो ? तपाइको हिसाबमा ८८ नम्बर आको थियो हो?)"

मुस्तफा आफ्नो पुरानै फिल्डिङ्ग पोजिसनमा फर्किए, ती दर्शकहरुको नजिक पुगे । उनै दर्शकले फेरि चिच्याएः "मुस्तफा भाई हम लोग आप जा रहे हे । एक बार बाई बोल्दो ना । (हामी जादै छौं, एक पटक भन्दिनुन न ।)" मुस्तफा पनि के कम उनी दर्शकलाई फ्लाइङ्ग किस नै दिन्छन् । दर्शक गदगद ।

मुस्तफाले यस्तै माया यसअघिको खेलमा पनि पाएका थिए । २ सय ३ रन बनेको बुटवलबिरुद्धको खेलमा उनले आफ्नो पुर्व टिमबिरुद्ध आकर्षक अद्र्धशतक प्रहार गर्दै दुई विकेट पनि लिदा म्यान अफ द म्याच चुनिएका थिए ।

यस बिषयमा सोध्दा उनी भन्छन् । "मलाई नेपालमा मात्र खेल्न मन लाग्छ । यहाँ दर्शकहरुले दिएको माया मलाई एकदम मन पर्छ र म राम्रो खेलेरै दर्शकहरुलाई सम्मान दिन चाहन्छु," उनले भनेका थिए । ट्वान्टी ट्वान्टी खेल रोमाञ्चक त हुन्छ नै तर पोखरा प्रिमियर लिगको माहोल यसपटक मुस्तफाकै लागि बनेको जस्तो देखिन्छ ।

हेर्नुस मुस्तफाले नेपालमा खेल्ने बिषयमा मिडियामा दिएको अन्तर्वार्ता