पारस र रोहनको अद्र्धशतकमा चितवनले बनायो पिपिएलकै सर्वाधिक योगफल
क्रीकेटिङ्ग नेपाल     २०७६-०९-०३

कप्तान पारस खड्का र रोहन मुस्तफाले अद्र्धशतक प्रहार गरेपछि चितवन राइनोजले पोखरा प्रिमियर लिग इतिहासकै बिशाल योगफल खडा गरेको छ ।

बुटवल ब्लास्टर्सबिरुद्धको खेलमा टस हारी पहिलो ब्याटिङ्गका लागि उत्रेको प्रतियोगिताकै प्रबल दावेदार राइनोजले २० ओभरमा तीन विकेट गुमाउदै २ सय ३ रन बनायो । राइनोजले बिहिबारको खेलसँगै यसअघि रहेको १ सय ९७ रनको योगफललाई पनि पछि पारेको थियो ।

साबिक बिजेता पोखरा पल्टनले गत बर्ष पहिलो संस्करणको पहिलो खेलमा बिराटनगर टाइटन्सबिरुद्ध तीन विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो । राइनोजका लागि किर्तिमानी योगफलको आधार पारस र रोहनले नै खडा गरेका थिए ।

पारस र रोहनले पहिलो विकेटका लागि एक सय १७ रनको बिशाल साझेदारी गरेका थिए । पारसले ४० बलमै ६ चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका थिए । यस्तै रोहन ५७ बलमा ७४ रन बनाउदै नटआउट रहेका थिए । उनले सात चौका र दुई छक्का हिर्काए ।

आरिफ शेखले १९ बलमा ४० रको अकर्षक इनिङ्गस खेलेका थिए । उनले तीन छक्का र तीन चौका हिर्काए । राइनोजले आफ्नो पहिलो खेलमा पोखरा पल्टन र बुटवलले काठमाडौं गोल्डेन वारियर्सलाई हराएको थियो ।